गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिट ‘हेर्दाहेर्दै’ मा


काठमाडौं – सहकारीको रकम अपचलन आरोप लागेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गरिएको रिट ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।

न्यायाधीशद्वय सपना मल्ल प्रधान र सारंगा सुवेदीको संयुक्त इजलासमा आज (शुक्रबार) रिटमाथि सुनुवाइ भएको थियो । रिटमाथि बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ ।

यसअघि असार ४ गते रिट ‘हेर्न नमिल्ने’ मा राखिएको थियो । सो दिन सुनुवाइका लागि रिटको पेशी न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा तोकिएको थियो । गृहमन्त्री लामिछाने पदमा रहेर सरकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै निलम्बनको माग गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

यसअघि जेठ २८ गते रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश डा.मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सहकारी ठगीमा लामिछानेविरुद्ध परेका मिसिल कागज झिकाउन आदेश दिएको थियो । रिटलाई अग्राधिकार दिँदै जितेन्द्रबाबु राई (जीवी राई) समेत भएको सहकारी ठगीको मुद्दा नम्बर ०८०–अ१–०९८७ को मिसिल रुपन्देही जिल्ला अदालतबाट झिकाउन आदेश दिएको थियो ।

 

प्रतिक्रिया