नामिबियाविरुद्ध जित हात पार्दै अस्ट्रेलिया सुपर-८ मा


अमेरिका — आईसीसी टी—२० विश्वकप २०२४ मा उपाधि दाबेदार अष्ट्रेलियाले नामिबियालाई ९ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । लगातार तेस्रो जितले समूह बी मा अष्ट्रेलिया शीर्ष स्थानमा रहँदै एक खेल अगावै सुपर(८ मा पुगेको छ ।

७३ रनको सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । ट्रविस हेड १७ बलमा ५ चौका र २ छक्कासहित ३४ रनमा नट आउट रहे । डेविड वार्नर ८ बलमा ३ चौका र १ छक्कासहित २० रनमा आउट भए । मिचेल मार्श ९ बलमा ३ चौका र १ छक्कासहित १८ रनमा नट आउट रहे । डेविड विजाले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १७ ओभरमा ७२ रनमा अल आउट भयो । नामिबियाका कप्तान जेराल्ड इरास्मसले ४३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३६ रन बनाए । माइकल भान लिंगेनले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अष्ट्रेलियाका स्पिनर एडम जाम्पाले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । जोश हेजलवुड र मार्कस स्टोइनिसले २–२ विकेट लिए । प्याट कमिन्स र नाथन एलिसले १–१ विकेट लिए ।

समूह बी मा अष्ट्रेलिया ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । त्यस्तै स्कटल्यान्ड ३ खेलमा २ मा जित र एक खेलमा अंक बाड्दै ५ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३ खेलमा १ मा जित र २ मा हारसहित २ अंकका साथ तेस्रो स्थानमा छ । इंग्ल्यान्ड २ खेलमा १ अंकका साथ चौथो स्थानमा छ । ओमान ३ खेलमा जितविहीन हुँदै बाहिरी सकेको छ ।

प्रतिक्रिया