फुटको बाटोतिर लम्कियो एमाले, यस्ता छन् सांगठनिक मुठभेडका उदाहरण


काठमाडौं– संघीय संसदको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी एमाले फुटको बाटोतिर लम्किएको छ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षले सांगठनिक मुठभेडको बाटोलाई समातेका छन्। आन्तरिक विवाद समाधानका निम्ति सोमबार दुवै पक्षको बैठक बसे पनि गुटगत भेला र कारबाहीका चेतावनी आएपछि एमालेको फुटयात्रा सुरु भएको विश्लेषण गरिएको छ।

नेपाल पक्षले बुधबार र विहीबार राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण सुरु गरेको छ भने ओली पक्षले उक्त कार्य रोक्न निर्देशन दिँदै कारबाहीको चेतावनी समेत दिएको छ।

नेपाल पक्षले देशभरीका आफूनिकट कार्यकर्ताको भेला ललितपुरको सानेपास्थित एक पार्टी प्यालेसमा सुरु गरेको छ भने त्यसको पूर्वसन्ध्यामा पार्टीका महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गर्दै संविधान, एमालेको विधान र संसदीय दलको व्यवस्थाअनुसार कारबाही गरिने चेतावनी दिएका छन्। यद्यपि विज्ञप्तिमा ‘कारबाही’ भन्ने शव्द उल्लेख नगरिए पनि सोही ढाँचाको चेतावनी दिइएको हो।

त्यसको प्रतिवाद गर्दै नेपाल पक्षका युवा नेता तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले ‘छुलिया ग्याङ’को भनाईले भेला नरोकिने र उपस्थित हुनका लागि बुधबार बिहान सामाजिक सञ्जाल फेसबुक र ट्वीटरबाट अर्को अपिल गरेका छन्।

‘नेकपा हुँदाको विवादको लहरो एमालेभित्र कायम रहेको छ यसले फुटको स्पष्ट संकेत गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको चेतावनीले पनि यस विषयलाई पुष्टि गर्छ’, एमालेका उच्च तहका एक नेताले भने,‘समझदारीमा लाग्नुपर्नेमा सांगठनिक मुठभेडको बाटोतिर लम्किनुको अर्थ त्यहि हो।’

बुधबार चियापानको कार्यक्रमलाई बालुवाटारमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले त्यस्तो भेलामा नजानका लागि चेतावनी दिएका थिए। ७ चैतमा ओलीले केन्द्रीय कमिटीको बैठक डाकेका छन्।

नेपाल पक्षले भेला गरी कुनै निर्णय लिएको वा समानान्तर कमिटी गठन गरेको खण्डमा उक्त केन्द्रीय कमिटीको बैठकबाट कारबाही गर्ने ओली पक्षको तयारी रहेको छ। उता संसदीय दलको बैठक राखेर नेपाल पक्षका सबैको सांसद पद पनि खोस्ने तयारी भएको छ।

नेकपाभित्रको विवाद तथा अहिलेको राजनीतिक परिस्थितिलाई सहजीकरण गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीहरूलाई समेत डाकेकी थिइन्। तर एमाले नेता नेपाल, झलनाथ खनाललगायत सहभागी नहुनुले पनि गतिलो संकेत नदिएको स्रोतहरूको दाबी छ।

उता एमाले एकता राष्ट्रिय अभियानमा सक्रिय रहेका उपाध्यक्ष बामदेव गौतमले पार्टीलाई जोगाउनका लागि अपिल गरेका छन्। यद्यपि गौतमको प्रयासलाई चिर्दै ओली र नेपाल विभाजनकै बाटोतिर लम्किएका छन्। ‘एकता कायम राख्दै बाम गठबन्धनलाई बचाउनुपर्नेमा विभाजनतिर जानु राम्रो होइन’, गौतमले भन्दै आएका छन्,‘एकताको प्रयास जारी रहनेछ।’

प्रतिक्रिया