विश्वकप छनोट खेल्ने नेपाली फुटवल टोलीको बिदाइ


काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप छनोट दोस्रो चरण खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरेको छ ।

आज (आइतबार) काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच एन्फा पदाधिकारीले नेपालको झण्डा हस्तान्तरण गरेर विश्वकप छनोट दोस्रो चरण अन्तर्गत युएई र यमनसँग हुने खेल खेल्नका लागि साउदी अरब जान लागेको टोलीको बिदाइ गरेको हो ।

बिदाइ कार्यक्रममा राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले नेपाली टीमको तयारी राम्रो भएकाले अंक प्राप्तका लागि अबको खेल महत्वपूर्ण भएको बताए । अहिलेको टीमका सदस्यले देखाएको प्रदर्शन र तयारीले नतिजा राम्रो आउने उनको विश्वास छ । उनले होम ग्राउण्डमा खेल्न नपाउनु दुःखद भएको बताए ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले खेलका लागि राम्रो तयारी भएको र टिममा धेरै सुधार देखिएको बताएका छन् । नेपालले युएईविरुद्धको ‘होम म्याच’ ६ जुनमा साउदी अरेबियाको दमाममा खेल्दैछ । युएईसँगको खेल भने त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने तय थियो ।

एएफसी (एसियाली फुटबल महासंघ) ले दशरथ रंगशाला विश्वकप छनोटका खेल सञ्चालन गर्न अयोग्य ठहर गरेपछि नेपालले युएईविरुद्धको ‘होम म्याच’ ६ जुनमा साउदी अरबको दमाममा खेल्ने तय भएको हो । छनोटको अन्तिम प्रतिस्पर्धाको रुपमा यमनविरुद्ध ११ जुनको अवे म्याच पनि साउदीमै हुँदैछ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यी दुई प्रतियोगिताका लागि आइतबार नै २३ सदस्सीय टोली घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया