इलामका जनताले रास्वपालाई पाठ सिकाए : शंकर पोखरेल


काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले इलामको उपनिर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पाठ सिकाएको बताएका छन् ।

शुक्रबार नेकपा एमाले मकवानपुरको १२औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अब सबै चुनाव जित्छौँ भन्ने रास्वपालाई इलामका जनताले जमानत जफत गराइदिएको बताएका हुन् ।

‘सत्ता गठबन्धनको बैठकमा रास्वपाका साथीहरूले इलाम उपनिर्वाचनमा चुनाव जित्ने दाबी गर्दै हाम्रो सांसद २१ हैन २२ लेख्नु भन्नुहुन्थ्यो’ उनले भने, ‘अब सबै चुनाव हामी जित्छौँ भन्नुहुन्थ्यो तर, इलामका जनताले रास्वपाको जमानत जफत गराइदिए ।’

महासचिव पोखरेलले जनताले पपुलिष्ट पार्टीभन्दा संघर्षबाट आएको एमालेलाई राष्ट्रिय राजनीतिमा आवश्यकता देखेको दाबी गरे । सम्बोधनको क्रममा उनले राप्रपा नेपालका नेता कमल थापा इमान्दार नबनेको आरोप लगाए ।

थापाले चुनाव जितेको भए उनी गणतन्त्रवादी नै रहन सक्ने भन्दै महासचिव पोखरेलले मकवानपुरले राजावादीलाई जिताएकोमा गुनासो गरे । गत निर्वाचनमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट कमल थापा र नेपाली काँग्रेसकी डिना उपाध्यायलाई हराएर राप्रपाका दिपक सिंह विजयी बनेका थिए ।

प्रतिक्रिया