३ सय ९६ घण्टा सदन चल्दा भत्ता बापत साढे ७ करोड खर्च


काठमाडौँ – अघिल्लो आर्थिक वर्ष (आव) २०७९्८० मा संसदका दुवै सदन बैठक ३९६ घण्टा चलेको छ । यसरी चलेको बैठकको भत्ता बापत राज्य कोषबाट साढे ७ करोड रुपैयाँ खर्च भएको छ ।

महालेखा परीक्षकको तथ्याङ्क अनुसार प्रतिनिधि सभा २०७९ को प्रथम अधिवेशन १ सय १० दिन चालु रहेकोमा २९ दिनमा जम्मा २८ पटक बैठक बसेको थियो । दोस्रो अधिवेशन १ सय ८० दिन चालु रहेकोमा ६९ दिनमा ६५ पटक बैठक बसेको थियो । प्रतिनिधि सभा बैठक उक्त वर्ष कुल २ सय ९६ घण्टा ३० मिनेट बसेको थियो ।

राष्ट्रिय सभातर्फ भने १३औँ अधिवेशन १ सय १० दिन चालु रहेकोमा १८ दिनमा १९ पटक र १४औँ अधिवेशन १ सय ८० दिन चालु रहेकोमा ३९ दिनमा ४८ पटक बैठक बसेको थियो । राष्ट्रिय सभा कुल १ सय घण्टा ६ मिनेट बसेको पाइएको छ ।

यसरी प्रतिनिधि सभाको प्रथम र दोस्रो अधिवेशन र राष्ट्रिय सभाको १३औं र १४औं अधिवेशनको बैठक भत्ता बापत ७ करोड ५६ लाख रुपैयाँ खर्च भएको महालेखाको ६१ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया