सिरोहियाको मुद्दामा बहस सकियो


जनकपुरधाम – नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको मुद्दामा बहस सकिएको छ ।

धनुषा जिल्ला अदालतको ५ नम्बर इजलासमा उपस्थित गराएपछि सुरुमा सिरोहियाकोतर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापासहित वकिलहरूको जम्बो टोलीले बहस गरेको हो ।

सिरोहियाको पक्षमा थापासँगै मधेश प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, वरिष्ठ अधिवक्ताहरू सीताराम भट्टराई, शेरबहादुर केसी, रमन श्रेष्ठ, गोविन्द बन्दी र रमण कर्णसहितले बहस गरे । धनुषा अदालतको पाँच नम्बर इजलासमा न्यायाधीश रोमाकान्त ज्ञवालीसमक्ष सिरोहियाका वकिलहरूले बहस सकेपछि सरकारी वकिलकोतर्फबाट बहस भएर सुनुवाइ सकिएको हो ।

सुनुवाइ सकिएसँगै अब न्यायाधीश ज्ञवालीले यो मुद्दामा सिरोहियालाई म्याद थप गरेर हिरासतमै राख्ने या बाहिर पठाएर प्रक्रिया अघि बढाउने आदेश दिने छन् । मंगलबार काठमाडौंस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाट पक्राउ परेका सिरोहियालाई अदालतले शुक्रबार सम्म दिएको तीन दिनको म्याद सकिएपछि थप्न पेस गरिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय धनुषाका प्रमुख सुदीप दंगालले सिरोहियाको केसमा अनुसन्धान नसकिएकाले थप ५ दिन म्याद मागेका थिए ।

प्रतिक्रिया