

सम्झौताहरू कार्यान्वयन नभएको भन्दै सहकारी पीडितले सुरु गरे आन्दोलन

काठमाडौँ – बचत फिर्ताका लागि सरकारले यसअघि गरेका सम्झौताहरू कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले आन्दोलन सुरु गरेका छन् ।
काठमाडौँ उपत्यका, पोखरा, बुटवल, चितवन, नवलपरासी, धरानलगायत विभिन्न जिल्लामा बिहान ११ बजेर ११ मिनेटमा एकै पटक आन्दोलन सुरु भएको हो ।
पीडितको पैसा फिर्ता गर्ने सम्बन्धमा यसअघि भएका कुनै पनि सम्झौता कार्यान्वयन नगरेको कारण तेस्रो चरणको आन्दोलन गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले बताएको छ । बचतकर्ताको पैसा फिर्ता गर, बचत फिर्ता नभएसम्म ०८४ को निर्वाचन हुन दिँदैनौ, सहकारी पीडितको माग आगामी वर्षको बजेटमा समावेश गरलगायत नारासहित उनीहरू धर्नामा उत्रिएका छन् ।
आफूहरूको माग सम्बोधन नभएसम्म निरन्तर रिले अनशन बस्ने पनि आयोजकले जनाएको छ ।

