कहाँ छन् कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ?
काठमाडाैं- जिल्ला अदालत धनुषाबाट पक्राउ पुर्जी जारी भएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया थापाथलीस्थित कान्तिपुर कम्प्लेक्समा गएर बसेका छन् । उनी भित्रै भएको अवस्थामा प्रहरीको भ्यान कार्यालय बाहिर खडा गरिएको छ । त्यहाँ सादा पोशाकमा समेत प्रहरीको उपस्थिति रहेको छ ।
सिरोहियालाई भेट्न राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा, पूर्वमन्त्री एनपी साउद, दीपक गिरी, रामनाथ अधिकारी, वीरबहादुर बलायर, राजेन्द्र बजगाइँ, चन्दा चौधरीलगायत नेताहरू त्यहाँ पुगेका छन् ।
सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । वैशाख १६ गते प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैर नेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको उल्लेख छ । उनीविरुद्ध सर्लाही निवासी इन्द्रजीतप्रसाद महतोले प्रहरीमा उजुरी दिएका थिए ।
सिरोहियाको जन्ममिति २०१९ राखेर २०३३/०३४ मा धनुषाबाट जारी भएको नागरिकताको नम्बर र २०३६ भदौ २० मा जनकपुर उपमहानगरपालिका वडा नम्बर २ ठेगानाबाट शिवजी साहु तेलीको नाममा जारी भएको नागरिकता नम्बर एकै रहेको उजुर कर्ताको दाबी थियाे ।
जाहेरी परेपछि सिरोहियाले आफूमाथि धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा प्रतिषेधको रिट दायर गरेका थिए । उक्त रिटमामाथि सुनुवाइ गर्दै सर्वोच्चले गृह मन्त्रालयसँग सिरोहियामाथि अनुसन्धान गर्नुपर्ने कारण माग गरेको थियो ।
आज जिल्ला अदालत धनुषाको इजलास नम्बर २ बाट सिरोहियालाई पक्राउ गर्न आदेश जारी भएको छ ।