जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रधानमन्त्री


काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथोपटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् ।

शनिबार नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले जेठको ७ गते आफूले चौथोपटक विश्वासको मत लिन लागेको बताए ।

‘‘७ गते फेरि एक पटक विश्वासको मत लिने भनेर संसद् सचिवालयमा विश्वासको मतका लागि पत्र पठाएको छु । ७ गतेको दिन विश्वासको मत लिनेछु । यो अवधिमा १३ पटक जति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्दैछु भनेर कांग्रेसको एक जना नेताले भन्नुभएको थियो, अहिले चौथो पटक लिनु परेको हुनाले यो पाँचौँ, छैटौँ  पटक लिनुपर्ने हो की जस्तो त देखिन्छ तर जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु” प्रधानमन्त्री प्रचण्डले भने , ‘‘धेरै टेन्सन लिनुपर्दैन । कहले अलि बढ्छ, कहिले अलि घट्छ, घटबढ त भइराख्छ, तर विश्वासको मत प्राप्त हुन्छ । एक पटक त झण्डै शतप्रतिशत विश्वासको मत प्राप्त भयो र यो पटक पनि विश्वासको मत प्राप्त हुन्छ । म कुनै दुबिधामा छैन, तपाईँहरू पनि दुबिधामा पर्नु पर्दैन ।’’

प्रधानमन्त्री प्रचण्डले सरकारको अहिलेको काम राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्ततु भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई पास गर्नु रहेको बताए ।

प्रतिक्रिया