जसपा नेपालको केन्द्रीय समिति आज, सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने तयारी


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक ललितपुरको ज्यापु प्रज्ञा भवन च्यासलमा बिहान ११ बजेबाट सुरु हुनेछ।

आजको बैठकमा जसपा नेपाल सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय हुने अध्यक्ष उपेन्द्र यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए।

आइतबार बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिने साथै समर्थन फिर्ता लिने निर्णय गरेको थियो। आज बस्ने केन्द्रीय समिति बैठकले यसबारे निर्णय गरी औपचारिकरुपमा सार्वजनिक गरिने चौरसियाको भनाइ छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार नै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई राजीनामा गरेर बाटो खोलिदिन निर्देशन दिएका थिए। प्रधानमन्त्रीको निर्देशनपछि मधेशमा जसपा नेपाल नेतृत्वको सरकारबाट बाहिरिँदै गठबन्धन घटकको एमाले र माओवादीले समर्थन फिर्ता लिएका छन्।

आजको बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा छलफल हुने जसपा नेपालले जनाएको छ। ।

गत वैशाख २३ मा उपप्रधानमन्त्री समेत रहेका यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ। अशोक राईसहित संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सात सांसद्ले जनता समाजवादी बनाएका छन्।

अध्यक्ष यादवसँग असन्तुष्टि जनाउँदै जसपाका राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी छाडेर नयाँ पार्टी दर्ता गरेका हुन्। उनीहरुको दलले निर्वाचन आयोगबाट मान्यता पाइसकेको छ।

प्रतिक्रिया