शिक्षा क्षेत्रका समस्या समाधान गर्न संघीय शिक्षा ऐन आउनुपर्छ: मन्त्री चौधरी


काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले शिक्षा क्षेत्रका समस्याको समाधान गर्न संघीय शिक्षा ऐन तत्काल आउन आवश्यक रहेको बताएकी छिन् ।

विद्यालय शिक्षण सिकाइको मन्दिर भएको भन्दै मन्त्री चौधरीले बालबालिका केन्द्रित शिक्षण सिकाई अपनाउन आग्रह गरिन् । एप्पल इन्टरनेशनल स्कुल तीनकुनेले शनिवार आयोजना गरेको वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा मन्त्री चौधरीले संविधानले शिक्षा क्षेत्र स्थानीय तहलाई दिएको भन्दै अबको शिक्षण सिकाई बालबालिकामैत्री हुनुपर्ने बताइन् ।

’संविधानमा शिक्षा स्थानीय तहमा दिइएको छ । केही कुराहरू स्थानीय तहअनुसार फरक–फरक व्यवस्था गर्न पाउने व्यवस्था छ’, उनले भनिन्, ’राज्यको संरचना अनुसार तीनै तहमा शिक्षाका केही विषयहरू एक खालको हुनुपर्छ । पाठ्यक्रमहरू पनि जीवन उपयोगी, अहिलेको टेक्नोलोजी अनुसार हुनुपर्छ । विद्यालय, माध्यमिक विद्यालय विद्यालय स्थानीय तहमै हुने भएकोले केही केही अधिकार स्थानीय तहमै गएको छ । बालबालिका केन्द्रित शिक्षण सिकाइ हुन आवश्यक छ ।’

शिक्षण सिकाई अहिलेको समयसापेक्ष र बालबालिका केन्द्रित बनाउन विद्यालय, परिवार, राज्य सबैको भूमिका रहने उनको भनाइ छ । ’शिक्षण सिकाई बालबालिका केन्द्रित हुनुपर्छ । पाठ्यक्रम त्यसअनुसार बनाउनुपर्छ । त्यसपछि मात्रै बच्चाले राम्रोसँग सिक्न सक्छ । अब हामीले जीवन उपयोगी शिक्षाहरू पनि समावेश गर्न आवश्यक छ’, उनले भनिन्, ’हरेक अभिभावकले शिक्षा र स्वास्थ्य दिन चाहन्छ । चाहे जस्तोसुकै आर्थिक अवस्थाको अभिभावक होस् तर उसले आफ्नो बच्चाको शिक्षा र स्वास्थ्य जसरी हुन्छ राम्रै दिन चाहन्छ । त्यसैले हामी सबैले कसरी हुन्छ बालबालिकालाई राम्रो शिक्षा दिन आवश्यक छ ।’

सरकारी विद्यालयको स्तर खस्किएको सन्दर्भमा अहिले धेरै गुनासो आएको भन्दै उनले विद्यालयमा राजनीतिकरण भएका कारण पनि रूपमा समस्या उत्पन्न भएको हुनसक्ने बताइन् । ’सरकारी विद्यालयको स्तर खस्किएको छ । शिक्षामन्त्री ज्यूले विद्यालयमा राजनीतिकरण भएका कारण समस्या भएको भन्नुभएको छ । अलिकति राजनीतिकरण बढी भएर त्यस्तो समस्या भएको पनि हुन सक्छ । सरकारी स्कुलमा केही न केही बेथिति छन् । त्यसलाई हामी सबैले सच्याउनुपर्छ’, उनले भनिन् ।

बच्चालाई राम्रो शिक्षा दिलाउनका निम्ति शिक्षक, विद्यालय र परिवार सबैको महत्त्वपूर्ण भूमिका रहने भन्दै उनले बच्चालाई सिकाउने पहिलो विद्यालय आफ्नै घर भएकाले घरमा पनि विशेष ध्यान दिनुपर्ने बताइन् । विभिन्न पक्षबाट अन्यायमा परेका, हिंसामा परेका, विभिन्न अपराधजन्य कार्यमा संलग्न भएर तथा परिबन्धमा परेका बालबालिकाहरूको न्याय निरूपणका निम्ति छुट्टै बाल अदालतको आवश्यकता रहेको मन्त्री चौधरीले बताइन् ।

विद्यालयका प्रिन्सिपल यमनाथ मैनालीले कार्यक्रमको सहजीकरण गरेका थिए भने त्यस अवसरमा शिक्षा क्षेत्रमा योगदान दिने विभिन्न व्यक्ति तथा शिक्षकहरूलाई सम्मानित गरिएको थियो ।

प्रतिक्रिया