नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली


काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता हुनु नपर्ने बताएका छन् ।

नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलाको आज शुभारम्भ गर्दै पूर्व प्रधानमन्त्री ओलीले नेपालको संसद्ले पारित गरेको राजनीतिक नक्सा, नेपाल सरकारको निर्णय र नेपालकै लगानीमा मुद्रामा छापिँदा अरुले टाउको किन दुखाउनु पर्ने भनी प्रश्न गरे । उनले देशभक्ति र स्वाधीनताका लागि बुद्धिजीवीहरुको महत्वपूर्ण भूमिका रहनेमा जोड दिए ।

अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको सल्लाहकार बनेको व्यक्तिले राष्ट्रहीतका विपरीत अभिव्यक्ति दिनु निन्दनीय भएको बताएका छन् । ओलीले एक सय रुपैयाँमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णयका विषयमा राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपालले दिएको अभिव्यक्ति निन्दनीय भएको बताएका हुन् ।

उनले नेपालीले कर तिरेको पैसाले राष्ट्रपतिको सल्लाहकार बनेको व्यक्तिले राष्ट्रहीतका विपरीत अभिव्यक्ति दिनु गम्भीर बिषय भएको समेत बताए । नेपालले आफ्नो निर्णय गर्दा अर्को देशलाई टाउको दुख्ने र नेपाललाई हेप्ने कुरा स्वीकार्य नभएको उनको भनाइ छ । ओलीले देशको सर्वोच्च संस्था राष्ट्रपति कार्यालय देशको अहित कुरा गर्नेहरूको गुँड लगाउने ठाउँ नभएको जिकिर गरे । उनले नेपालीको देशभक्तिलाई चुनौती दिने अधिकार कसैलाई पनि नभएको धारणा राखे ।

भेलालाई एमाले नेताहरू भानुभक्त ढकाल, रघुजी पन्त, विद्या भट्टराईलगायतले सम्बोधन गर्दै शुभकामना दिए । दुई दिन सञ्चालन हुने भेलामा देशभरका बुद्धिजीवीहरुको सहभागिता रहेको परिषद्का महासचिव गजेन्द्र थपलियाले जानकारी दिए ।

प्रतिक्रिया