‘महजोडी’का मदनलाई स्थापित गर्ने पूर्व एसपी हाडा, राजादेखि रङ्कसम्मलाई हँसाउने खुबी


काठमाडाैं- ६ वर्षअघि एक कार्यक्रममा बोल्दै ‘महजोडी’का जोडा मदनकृष्ण श्रेष्ठले सम्झिँदै भनेका थिए, ‘म हँसाउन सक्दिनथेँ, तर ध्रुव हाडाले क्यारिकेचर गर्ने आँट दिनुभयो ।’

उनले भनेका ध्रुव हाडालाई अहिलेको नयाँ पुस्ताले चिन्दैनन् । तर, मदनकृष्णलाई हास्यव्यंग्यमा पाइला टेकाउने व्यक्ति थिए नेपाल प्रहरीका पूर्व प्रहरी उपरीक्षक (एसपी) ध्रुव हाडा ।

हाडाले पनि मदनकृष्णलाई उक्त क्षेत्रमा आफूले नै स्थापित गरेको बताउने गरेका थिए । आजभन्दा ५ दशक अघि हाडाले गर्ने प्रहसन कार्यक्रममा गाउनका लागि मदनकृष्ण सहभागी हुन्थे । उनले हाडालाई हास्यव्यंग्य गर्ने रहर भएको सुनाएका थिए । अनि भक्तपुरको सूर्यविनायकमा भएको एक कार्यक्रममा हाडाले मदनकृष्णलाई चाइनिज भाषामा नेवारी भाषा मिलाएर उद्घोषण गर्नु भनेर सिकाएर पठाएका थिए ।

कार्यक्रममा दर्शक खुबै हाँसे । त्यहि दिनबाट हाडाको सल्लाहअनुसार मदनकृष्ण प्रहसनतिर मोडिएको बताइन्छ । पछि उनले हरिवंशसँग सहकार्य गरेर महजोडी बनाएको चर्चा छ ।

अहिले चर्चित मह जोडीका मदनकृष्णलाई स्थापित गराउने हाडाले भने हिजो संसार छाडेका छन् । केही समयदेखि बिरामी रहेका उनी ८१ वर्षको उमेरमा परलोक पधारेका हुन् । उनको आज(शुक्रबार) बिहान पशुपतिमा अन्तेष्टि गरिएको छ।

उनले कलाकारिता, निर्देशन, कार्यक्रम संयोजन मात्र होइन, १० देखि ५ को सरकारी जागिरसम्म भ्याएका थिए । उनी अर्का चर्चित हास्यकलाकार राजपाल थापासँग जोडी बनाएर हास्यव्यंगमा सक्रिय थिए ।

भक्तपुरमा २००० पुस १ गते जन्मेका धु्रव हाडाले १२ वर्षकै उमेरमा कलाकारिता क्षेत्रमा प्रवेश गरेका थिए । प्रवेश गरेकै वर्ष २०१२ सालमा उनले पुरस्कार पाएका थिए ।

साँस्कृतिक संस्थानले ०२४ र ०२५ सालका आयोजना गरेको प्रतियोगितामा पनि उनी प्रथम भए । त्यो जीतसँगैे ध्रुवको हास्यव्यंग्य यात्रा सुरु भएको थियो ।

२०२४ सालमा राजपाल थापासँग उनको भेट भएको थियो । राजपाल त्यतिबेला प्रहरीबाट प्रतियोगितामा भाग लिन आएका थिए । त्यसपछिलेखि नै उनले राजपालसँग जोडी बनाएर प्रहरीमा जागिर खाए । त्यसपछि दुवैजनाले राजाको जन्मोत्सव, प्रहरी दिवस, रानीको जन्मोत्सव लगायत प्रहरीभित्रै आयोजना हुने विभिन्न कार्यक्रममा प्रहसन गर्न थालेका थिए । उनको व्यंग्य तत्कालीन राजा महेन्द्रदेखि वीरेन्द्रसम्मले मनपराउने गरेको बताइन्छ ।

२०२४ सालमा प्रहरी सहायक निरीक्षकका रूपमा प्रहरी सेवामा प्रवेश गर्ने ध्रुव हाडा प्रहरी उपरीक्षकसम्म भई २०५६ सालमा अवकाश भएका थिए । तर, अवकाशपछिका दिनमा पनि विज्ञका रूपमा करार सेवामा उनी निरन्तर सेवारत थिए । उनले रेडियो नेपालमा ‘रस रङ्ग’ कार्यक्रम चलाएका थिए ।

उनले सांस्कृतिक संस्थान, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, महेन्द्र पुलिस क्लब, बाल सङ्गठन, ललितपुर कला संस्कृति प्रतिष्ठान आदिबाट सम्मान र पुरस्कार पाएका थिए । साधना सम्मान, गोपालराज पन्त पुरस्कार, प्रबल गोदवा पनि उनले पाएका थिए ।

उनै ‘लेजेन्ड’ लाई सम्झिदै नेपाल पूर्व प्रहरी संगठनका अध्यक्ष बसन्त कुँवर भन्छन्, ‘हँसाए सबैलाई, गए एक्लै ।’ दुःख, पीर र तनाबका बीचमा पनि राजादेखि रङ्कसम्मलाई हाँस्न बाध्य बनाउने पूर्व एसपी ध्रुव हाडाप्रति उनले उच्च सम्मान प्रकट गरेका छन् ।

‘उहाँलाई हामी चिन्नेले कति चिन्याैं ? त्यो आ–आफ्नो हैसियत र क्षमता अनुसार चिन्यौं होला । तर, उहाँ हाम्रो बुझाइभन्दा माथिको व्यक्ति हुनुहुन्थ्यो । उहाँलाई प्रहरीले होइन प्रहरी उहाँबाट पनि चिनिन्थ्यो । उहाँ स्वयम् एक परिचय र प्रहरी संगठनको हिरा हुनुहुन्थ्यो’ कुँवरले भने ।

ध्रव हाडाले आफ्नो जीवनको ९० प्रतिशत समय प्रहरी संगठनलाई दिएको उनका परिवारका सदस्य बताउँछन् ।

 

प्रतिक्रिया