इलाम-२ मा ५२ प्रतिशत मत खस्यो, बझाङमा कति ?


इलाम – इलाम क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५२ प्रतिशत मत खसेको छ । अहिले ३ बजेर ३० मिनेट सम्मको तथ्याङ्क अनुसार ६० हजार मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

खसेको मत सङ्ख्याको आधारमा यो ५२ प्रतिशत मत हो । इलाम(२ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता छन् । बिहान ७ बजेदेखि ७९ मतदान स्थलका एक सय ४९ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

सबै केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए । इलाम९२ मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा एमालेका सुहाङ नेम्बाङ, काँग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ ।

यस्तै बझाङमा प्रदेशसभा (क) को उपनिर्वाचनमा आज दिउँसो ३ः२० बजेसम्ममा ४३ प्रतिशत मतदान भएको छ ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार हालसम्ममा २६ हजार पाँच सय मत खसेको छ । मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । प्रदेशसभा (क) का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिए ।

शान्तिपूर्ण रूपमा मतदान सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ ।

प्रतिक्रिया