

नेपालले साउदी अरेबियालाई ६ विकेटले हरायाे, समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं- ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएको छ ।
साउदी अरेबियाले दिएको ७४ रनको चुनौती पछ्याउने क्रममा गुलशन झाले सर्वाधिक ३२ रन र रोहित पौडेलले १६ रन अविजित रहे ।
दिपेन्द्रसिंह ऐरी १७ रन बनाएर आएट भने आशिफ शेख २ रन र कुशल मल्ल २ रन बनाएर आउट भए। यस्तै, कुशल भुर्तेल शून्यमा आउट भए ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको साउदी अरेबियाले निर्धारित ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको हो ।
साउदी अरेबियाका अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए पनि अरूले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। वर्षाका कारण पिच भिजेकाले खेल सुरु हुन ढिला हुँदा २० ओभरको खेल ८ ओभरमा छोट्याइएको हो।
नेपालका करण केसी र अविनाश बोहोराले समान २/२, ललितनारायण राजवंशी र प्रतिस जिसीले समान १/१ विकेट लिए ।
प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो । नेपाली टोली लिग चरणमा आफ्नो सबै खेल जित्दै आठ अङ्कसहित समूह ‘ए’ को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

