हङकङमाथि नेपालको फराकिलो जीत


काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर लिगमा नेपालले लगातार तेस्रो जीत हात पारेको छ । तेस्रो खेलमा बलियो प्रतिस्पर्धी मानिएको हङकङमाथि नेपालले ८ विकेटको सहज जीत हाथ पारेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले १७.५ ओभरमा अलआउट हुनुअघि एक सय १४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १२.२ ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो ।

ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए । अर्का ओपनर कुशल भुर्तेल १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाए ।

नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ५.३ ओभरमा ७० रन जोड्दै शानदार सुरुवात दिलाएका थिए ।

वर्षाका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएकाले खेल १८–१८ ओभरमा झारिएको थियो ।

एसीसी प्रिमियर कपको दोस्रो संस्करणमा नेपालले हात पारेको यो लगातार तेस्रो जित हो । यसअघि नेपाली टोलीले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

नेपाली टोली ६ अंकसहित समूह ‘ए’ तालिकाको पहिलो स्थानमा  छ ।

प्रतिक्रिया