

डोल्पामा डढेलोमा परेर ३ बालक गम्भीर घाइते

काठमाडौं – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा लागेको डढेलोमा परेर तीन जना बालक गम्भीर घाइते भएका छन् ।
बिहीबार च्याउ टिप्न गएका १२, १३ र १० वर्षका तीन बालक घाइते भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । दिउँसो घर नजिकै रहेको सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरु डढेलोमा परेका थिए ।
गम्भीर घाइते उनीहरुलाई जिल्ला अस्पताल, दुनै ल्याइएको थियो । दुनैमा थप उपचार सम्भव नहुने भएपनि हेलिकोप्टरमार्फत उद्दार गरेर नेपालगञ्ज ल्याउने प्रयास भइरहेको छ । तर, मौसमका कारण हेलिकोप्टर अवतरण गर्न समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।
डोल्पामा गएको सोमबार मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा ४ जना सैनिक समेत गम्भीर घाइते भएका थिए । तीमध्ये ३ जनाको उपचारका क्रममा निधन भएको छ भने एक जनाको उपचार जारी छ ।

