गृहमन्त्री जबरजस्ती पदमा बस्न खोज्नु नै बदमासीको शंका गर्ने ठाउँ छ: सांसद पाण्डे


काठमाडौं – सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारी ठगि प्रकरणको छानबिनका लागि प्रतिपक्षीले राखिरहेको मागको सम्बोधन गर्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पाण्डेले कुनै पनि प्रकरणमा प्रतिपक्षले छानबिन समिति गठनको माग गरेपछि समिति बनाउने यसअघिको नजिर भएको भन्दै यस सहकारी प्रकरणमा पनि छानविन समिति बन्नुपर्ने बताए ।

संसदमा प्रतिपक्षले उठाएका कुराहरु सुनिनुपर्ने उनको भनाइ छ । सत्तापक्षले जबरजस्त रुपमा संसद चलाउनु नहुने उनले बताए । सांसद पाण्डेले संसदीय समिति बनेमा आरोप लागेको मन्त्रीले आफू चोखिने अवसर पाउने पनि बताए । जबरजस्ती पदमा बस्न खोज्नुले सहकारीमा बद्मासी छ भनेर शंका गर्ने ठाउँ बनेको उनले बताए ।

पाण्डेले भने, ‘प्रमुख प्रतिपक्षले हाम्रो कुरा सुनियोस् । यो कुरा निर्णय गरियोस् भनेर आवाज उठाइसकेपछि सत्ता पक्षले सुन्नैपर्छ । सत्ता पक्षले जबरजस्ती गरेर हाउस चलाउछु भनेर त्यो काम लाग्दैन । आजभन्दा डेढ महिना अगाडी अर्को समिकरण भएको बेलामा यि प्रतिपक्षमा बसेर के गरेका थिए, सम्झिए हुन्छ । सुन काण्ड छानविन गर्न सरकारका स्थायी संयन्त्रहरु कुनै काम लाग्दैन आयोग बन्नैपर्छ भनेर गरेको हो कि होइन ? त्यसकारणले आफैँले नजिर बसाइसकेको छ ।’

उनले थप भने, ‘आरोप लागिसकेको मन्त्रीले आफू बाहिर हटेर त्यो आरोप हो, होइन क्लियर गरेर आफूलाई चोखिने अवसर पाउने हो । तर जबरजस्ती बस्न खोज्नु भनेको त्यहाँ केही बदमाशी छ भनेर शंका गर्ने ठाउँ छ । त्यसकारण उसले आफूलाई चोखो ठान्छन् । मैले कमजोरी गरेको छैन भन्ने ठान्छन् भने उनले तयार छु भन्नपर्छ ।’

प्रतिक्रिया