

सर्लाहीमा आगलागी हुँदा ११ घर जलेर नष्ट

सर्लाही- सर्लाहीको बसबरियामा आगलागी हुँदा ११ घर जलेर नष्ट भएका छन् ।
सोमबार बिहान ११ बजे बसबरिया गाउँपालिका–३ भवानिपुरको बङ्गलवास्थित दलित बस्तीमा आगलागी भएको हो ।
आगलागीबाट ११ परिवारको फुसको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
‘आगलागीबाट भएको क्षतिको विवरण संकलनको काम हुँदैछ,’ उनले नेपालखबरसँग भने, ‘झण्डै दुई घण्टा लगाएर आगो नियन्त्रणमा लिएका छौँ ।’
आगलागीबाट ६ घर पूर्ण र ५ घर आंशिक जलेकाे उनले बताए। आगलागीबाट लाखौँको क्षति भएको अनुमान छ ।
आगो नियन्त्रणमा लिन जनपद र सशस्त्र प्रहरी, स्थानीयवासी तथा हरिवन र मलंगवा नगरपालिकाका दुईवटा वारुण यन्त्र परिचालन गरिएको थियाे।
२० वटा स्थानीय तह रहेको सर्लाहीका जम्मा दुई स्थानीय तहसँग मात्रै वारुणयन्त्र छ । सदरमुकामसमेत रहेको मलंगवा र हरिवन नगरपालिका बाहेक सर्लाहीका १८ स्थानीय तहसँग वारुण यन्त्र छैन ।
सममयमै वारुण यन्त्र नपुग्दा सर्लाहीमा आगलागीले धेरै क्षति हुने गरेको छ ।

