आरती साह प्रकरणः डिआईजी जोशीको कमाण्डमा जनकपुर पुग्यो टोली, ४५ दिनभित्र प्रतिवेदन आउने


काठमाडौं — प्रहरी प्रधान कार्यालयले आरती साहको शङ्कास्पद मृत्यु भएको घटनाबारे छानबिन गर्नका लागि प्रहरी टोली जनकपुरमा पठाएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेशराज जोशीको नेतृत्वमा चार सदस्यीय टोली जनकपुर पठाएको हो ।

अनुसन्धानका लागि जनकपुर पुगेका टोलीका अन्य सदस्यमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का एसपी होविन्द्र बोगटी, डीएसपी जागेश्वर भण्डारी र इन्स्पेक्टर शान्ता लामाले घटनाबारे थप अनुसन्धान सुरु गरेका हुन् ।

फागुन ३० मा गृह मन्त्रालय र पीडित परिवारको बिचमा थप अनुसन्धान गर्न सीआईबीको टोली पठाउने सहमति भएको थियो । गृह मन्त्रालयका अधिकारीहरूसँगको ५ बुँदे सहमति गरेसँगै १० महिनादेखि आन्दोलनरत साहका परिवारले आन्दोलन फिर्ता लिएका थिए ।

२०८० जेठ ७ मा धनुषाको जनकपुर उप–महानगरपालिका–९ स्थित थापा चोकमा रहेको घरमा मृत फेला परेकी आरती साहको मृत्युबारे थप अनुसन्धान सुरु भएको छ । डीआईजी नेतृत्वको टिमले काम सुरु गरेको ४५ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया