
नेपालले गुजरातलाई दियो १८२ रनको लक्ष्य
काठमाडौं- एसएसएस फ्रेन्डसिप कप टी–२० क्रिकेटमा नेपालले गुजरातलाई १८२ रनको चुनौती दिएको छ । त्रिकोणात्मक सिरिज अन्तर्गत बुधबार भएको तेस्रो खेलमा नेपालले वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ मैदानमा गुजरातलाई ७ विकेटको क्षतिमा १८२ रनको चुनौती दिएको हो ।
नेपालका लागि आसिफ शेख र कुशल भुर्तेलले शानदार अर्धशतक बनाए । आसिफ शेखले ५१ बलमा सर्वाधिक ८५ रन बनाए भने कुशल भुर्तेलले ४४ बलमा ६७ रन जोडे । नेपालका ओपनर कुशल र आसिफले शानदार अर्धशतक बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
कप्तान रोहित पौडेल ७ बलमा ३ रन, सन्दीप जोरा ३ बलमा २ रन, कुशल मल्ल २ बलमा १ रन र गुल्शन झा ४ बलमा ४ रन बनाएर आउट भए । अनिलकुमार शाह शून्यमा आउट हुँदा विवेककुमार यादवले नटआउट ५ बलमा ७ रन र प्रतिश जिसीले ३ बलमा ४ रन जोडे । केही बेलमा गुजरातले नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याउँदैछ ।
गुजरातका लागि जयीतम पटेलले ४६ रन खर्चिएर ३ विकेट लिए भने ध्रुशान्त सोनीले २६ रन खर्चिएर २ विकेट लिए ।



कागजपत्र |
