

बुधबारको संसद् बैठकमा माओवादी सत्तापक्षकै सिटमा

काठमाडौं – सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ब्यूँताइदिएपछि बस्ने प्रनिनिधिसभाको पहिलो बैठकमा दुवै दल सँगै बस्ने भएका छन् । बुधबार निर्वाचन आयोगले संसद् सचिवालयमा दुई दल अलग्गिएको पत्र पठाएपछि पनि दुवै दल सँगै बस्ने भएका हुन् ।
नेकपा (माओवादी केन्द्र)ले नेकपा (एमाले)को नेतृत्वमा बनेको सरकारको समर्थन फिर्ता नगरेको अवस्थामा दुवै दलका सांसद्हरु सँगै बस्ने संसद् सचिवालयका प्रवक्ता एवं सह–सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।
सत्तापक्षकै सिटमा बसे पनि दुई दलहरू दुई खण्डमा बस्नसक्ने प्रवक्ता पाण्डेको अनुमान छ । अहिले संसद् भवनमा दुई खण्ड सत्तापक्षलाई भनेर छुट्याइएको छ । त्यसमध्ये एक खण्डमा एमालेका सांसद् र अर्को खण्डमा माओवादी केन्द्रका सांसद् रहनसक्ने पाण्डेको भनाइ छ ।

