गम्भीरखाले उजुरी परेपछि निगम कार्यकारी अध्यक्ष अधिकारी बर्खास्तीमा पर्दै !
काठमाडौं – नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हटाउने तयारी गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) गम्भीर प्रकृतिका घटनामा संलग्न रहेको देखिएपछि बर्खास्तीका लागि पहल गरेको छ ।
अध्यक्ष अधिकारीलाई क्यानले हवाई सुरक्षादेखि लिएर विमानको मर्मत सम्भारमा गरेको हेलचेक्र्याईका साथै महिला कर्मचारीहरुमाथि गरेको दुव्र्यवहारसम्मको घटनामा उजुरी परेको भेटिएपछि अधिकारीमाथि कारबाहीको तयारी गरेको हो ।
अधिकारीमाथि निगममा कार्यरत ६ महिला कर्मचारीमाथि सेक्सुअल ह्यारेसमेन्टको आरोप लागेको छ । उक्त घटनामा तत्कालिन पर्यटन मन्त्री सुदन किराँतीले छानबिन समिति समेत बनाएका थिए । उक्त समितिले उक्त घटनामा छानबिन गरिरहेको छ ।
त्यस्तै इजरायलको एउटा कम्पनीसँग कमिसनकै चक्करमा वायुसेवाको जहाज मर्मत कार्य अगाडि नबढाएको समेत जनाइएको छ । मर्मत भएका कारण निगमको न्यारोबडी जहाज चार महिनादेखि ग्राउन्डेड छ ।
त्यस्तै निगमले कतिपय निगमका जहाजहरुमा ‘डेट एक्पायर’ भइसकेका इक्विपमेन्टहरु प्रयोग गरिरहेको समेत भेटिएको जनाएको छ । त्यस्ता सामाग्रीहरु प्रयोग गरेर जहाज उडाउनुलाई गम्भीर सुरक्षा लापरबाही मान्न सकिन्छ ।
त्यसकारण अध्यक्ष अधिकारलाई निगमबाट हटाउनका लागि निगमले पर्यटन मन्त्रालयमा प्रस्ताव लाने तयारी पनि गरेको छ भने नवनियुक्त पर्यटनमन्त्री हितबहादुर तामाङले पनि निगमको उक्त घटनाबारे चासो लिएको जनाइएको छ ।
मन्त्री तामाङले पनि निगमलाई त्यसबारे थप कुरा छानबिनका लागि निर्देशन दिएको र त्यसको छानबिनपछि थप कदम अगाडि चाल्ने संकेत दिएको जनाइएको छ ।
निगमको अध्यक्ष हटाउनका लागि मन्त्रालयबाट मन्त्रीपरिषद्मा प्रस्ताव गएपछि छलफलपछि मात्रै हटाउने सकिने प्रावधान रहेको छ ।