धनगढीका मेयरलाई धम्की दिएको आरोप लागेका रानाले उपमहानगरभित्रै विष खाए


कैलाली- धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफूलाई धम्की दिएको बताएका व्यक्ति अस्पताल भर्ना भएका छन् । उनी विषादी सेवनपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

मंगलबार बिहान करीब साढे १० बजेको समयमा उपमहानगरपालिका कार्यालयमा धनगढी उपमहानगरपालिका–६ मट्यारीका गणेश रानाले विषादी सेवन गरेका हुन् । नगरपालिका परिसरमा विषादी सेवन गरेको अवस्थामा भेटिएपछि नगर प्रहरीले उद्दार गरेर सेती प्रादेशिक अस्पताल पुगाएका थिए ।

उपमहानगरपालिकाका सूचना अधिकारी सुरेन्द्र कार्कीले विषादी सेवन गरिरहेको अवस्थामा भेटिएका रानालाई नगर प्रहरीले तत्काल उद्दार गरेको जानकारी दिए ।

रानाले आफूलाई वाट्सअप मार्फत धम्की दिएको भन्दै सोमबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दै निवेदन दिएका थिए ।

प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कारवाहीका लागि पठाएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दकाअनुसार रानाले आफू छलफलका लागि आउने बताएका थिए । तर मंगलबार बिहान उपमहानगरपालिका कार्यालयमा देखिएका रानाले एकाएक विषादी सेवन गरेका थिए ।

प्रतिक्रिया