
‘कट्टेल सर’ले दिएको चोटपटकका मुख्य घाइते
काठमाडौं– सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ऋषिराम कट्टेलको भएको र एकीकरण गर्न मन लागे तत्कालिन एमाले र माओवादी केन्द्रले अबिलम्ब अर्को नाम तय गर्न परमादेश जारी गरिदियो।
नेकपाबीचको विवादले चरम उत्कर्ष लिएको र विघटित प्रतिनिधि सभा पुनःस्थापनापछि बसेको पहिलो बैठकका दिन नै आएको यो फैसलाले नेताहरूलाई नैतिक संकटमा पारेको छ। यो फैसलापछि सामाजिक सञ्जालमा टिप्पणी हुन थालेका छन्,‘कट्टेल सरले दिएको चोटपटक।’
खासगरी नेकपा भन्ने ठूलो पार्टीको नेतृत्व लिने पुष्पकमल दाहाल प्रचण्डको सपनामा धक्का त लागेको छ तर उनकै शव्दमा ‘पाहा जसरी’चाहिँ पछारिएका छैनन्। तर सोही समूहमा लागेका माधवकुमार नेपालचाहिँ नराम्रोसँग घाइते भएका छन्।
‘अब नैतिक घाइते बनिसकेका छन्। कसरी अगाडि बढ्नेछन् भन्ने रणनीति तय होला। तर नेपालका लागि टाउको लुकाउने ठाउँ पनि गाह्रो भएको छ’, नेपाल पक्षकै एक जना बरिष्ठ नेताले भने,‘अब तत्कालिन एमालेभित्र संघर्ष गर्नुको विकल्प छैन।’
कट्टेलका पक्षमा फैसला जाँदा प्रचण्डलाई ठूलो राजनीतिक नोक्सान छैन। उनको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र ब्युँतिएको छ, यसमा प्रचण्डको लिगेसी ज्युँदो छ। तर, नेपाललाई भने ठूलो घाइते बनाएको छ।
उनी नेकपा एमालेमा फर्किन्छन् या फर्किँदैनन् भन्ने चिजको यकिन भएको छैन। तर जीवनभरी सूर्य चुनाव चिन्हबाट निर्वाचनको मैदानमा उत्रिएका नेपाल अब प्रचण्डको हँसिया हतौडा या अन्य चुनाव चिन्हतिर लाग्नुपर्ने नैतिक दबाब छ।
अदालतको फैसलाको विश्लेषण गरिरहेका संविधानविद भिमार्जुन आचार्यले एउटा अन्तरवार्तामा भनेका छन्,‘अब नेपाललगायतका नेतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाही समेत गर्न सक्छन्। सांसद पद समेत जान सक्छ।’
फैसलाले ३ जेठ ०७५ को अवस्थामा पुगेको छ। २३ जेठमा दुवै दलले एकीकरण गरी नेकपा दर्ता गरेका थिए। जब दल दर्ता भयो कट्टेलले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए। हेर्न नभ्याइएको मुद्दा अहम् समयमा नै फैसला आएपछि ओली पक्ष थप बलियो भएको आचार्यको विश्लेषण छ।
नेपाल किन घाइते? तत्कालिन एमालेका बरिष्ठ नेता रहेका झलनाथ खनालले फैसलापछि आफू एमालेकै नेता भएको भन्ने प्रारम्भिक टिप्पणी गरिसकेका छन्। तर, अर्को अध्यक्ष निर्वाचित भएका नेपालमाथि भने ओलीको ठूलो व्यंग्य चलेको थियो।
नेपालले पनि ओलीविरुद्ध सार्वजनिक सभामा कटु टिप्पणी गर्दै आएका थिए। सोही विषयले राजनीतिक रंग लिन सक्ने सम्भावनालाई लिएर पनि नेपाल ठूलो समस्यामा रहेको बुझ्न सक्ने कतिपयले बताउने गरेका छन्। त्यसो त कट्टेलले व्यंज्ञात्मक रुपमा भनेका छन्,‘प्रचण्ड र नेपाल मेरो पार्टीमा आए स्वागत गर्न तयार छु।’ अस्तित्वमा नै नरहेको मानेका नेताको यस्तो व्यंग्य वाँणले नेपाललाई थप घाइते बनाएको छ।



कागजपत्र |
