

हिमालयन एयरलाइन्सलाई ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ दिन सर्वोच्चको परमादेश

काठमाडौं-अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एयरलाइन्सले सेल्फ ग्राउन्ड ह्यान्डलिङ सञ्चालन गर्न पाउने भएको छ । सर्वोच्च अदालतले शुक्रबार परमादेश दिएसँगै हिमालयले सेल्फ ग्राउन्ड ह्यान्डलिङ सञ्चालन गर्न पाउने भएको हो ।
न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले हिमालयन एयरलान्इसलाई ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ दिन नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नाममा शुक्रबार परमादेश जारी गरेको हो ।
हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्डह्यान्डलिङ सेवा सञ्चालन गर्न दिनेगरी प्राधिकरणले २०७७ असोज ४ मा निर्णय गरेको थियो । तर विरोधपछि प्राधिकरणको निर्णय तत्काल कार्यान्वयन नगर्न तत्कालीन पर्यटनमन्त्री योगश भट्टराइले निर्देशन दिएका थिए। हिमालय उक्त निर्णय सच्चिनुपर्ने भन्दै सर्वोच्च गएको थियो ।
प्राधिकरणले २०७२ सालमा जारी गरेको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण वायुयानहरूको ग्राउन्ड ह्यान्डलिङ तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका २०७२’ मा हप्तामा कम्तीमा ३५ नियमित उडान गर्ने कम्पनीले आफैँ ग्राउन्ड ह्यान्डलिङ गर्न पाउने व्यवस्था गरेको छ ।

