
४ नाइकेकाे साथमा बम्जन !
काठमाडौँ – पुर्पक्षका लागि कारागार चलान गरिएका ‘तपस्वी’ रामबहादुर बम्जन अहिले जिल्ला कारागार महोत्तरीमा छन् । सर्लाही कारागारको भवन बनिरहेको हुनाले उनलाई महोत्तरीको जलेश्वर कारागारमा थुनामा राखिएको हो ।
सर्लाही जिल्ला अदालतले थुनामा राख्न आदेश गरेपछि जेल चलान भएका बम्जनलाई भेट्न सुरुको ४–५ दिन अनुयायीहरूको भिड लागेको थियो । बम्जन बस्ने कोठामा अरू ४ जना नाइकेहरू बस्छन् । तर, पछिल्लो समय उनले कसैलाई भेट्दैनन् । बम्जन दिनभर टिभी हेरेर बस्छन् । उनी कसैसँग बोल्दैनन् ।
जेलमा बम्जनको छुट्टै भान्सा छ । थुनामा बस्नुपर्ने भएपछि बम्जनले जेल भित्रको ‘आन्तरिक प्रशासन’लाई आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । उनकै आग्रह अनुसार छुट्टै भान्सा सञ्चालन गर्न अनुमति दिइएको जलेश्वर कारागारका खरिदार रविन चन्द्र ठाकुरले बताए । कारागारका सूचना अधिकारी ठाकुरले भने, ‘एक जना नाइकेले उहाँलाई भान्सामा सहयोग गर्नुहुन्छ ।’
नाइके नरवीर लामाले बम्जनलाई खान बनाएर खुवाउँछन् । बम्जनको भान्सामा लसुन र प्याज लैजान पाइँदैन । खरिदार ठाकुर भन्छन्, ‘उहाँ लसुन र प्याज हालेको तरकारी खानुहुन्न ।’ लसुन र प्याज बाहेक उनी अन्य कैदीले जस्तै दाल र भात खान्छन् । कारागार प्रशासनको अनुमतिमा नाइके नरवीर बम्जनको सहयोगी खटिएका हुन् ।



कागजपत्र |
