

नेविसंघले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडाैं- सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा मागेको छ ।
शुक्रबार प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै नेविसंघले सिंहदरबादेखि बालुवाटारसम्म मार्चपास गरेको हो ।
उनीहरुले बालकुमारी घटनामा सरकारकै कारण दुई युवाहरुको मृत्यु भएको भन्दै सरकारविरोधी नारावाजी गरेका छन् ।
नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले भ्रष्टाचारीलाई सरकारले संरक्षण गरेकोले मार्चपास गरिएको बताए । ‘वर्तमान सरकारले सुनकाण्ड, एनसेल काण्ड लगायत भ्रष्टाचारका प्रकरणमा जोडिएका नाइकेहरुलाई कारबाही नगरि आफू निकटका मान्छेको नाम आउँदा मौन बस्ने, दिन दहाडै युवाले अधिकारका लागि आवाज उठाउँदा गोली ठोक्ने, स्वदेशमा रोजगारी सिर्जना नगर्ने जस्ता कार्यमा लागि राज्यमा आतंक सृजना गरिरहेकाले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागिएको हो’ उनले भने ।

