राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनको बैठक आज


काठमाडौं – सत्ता गठबन्धनको बैठक आज बस्दै छ । राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँडका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ९ बजे गठबन्धनको बैठक बस्न लागेको हो ।

बुधबार दिउँसो सत्ता गठबन्धनका प्रमुख चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा निर्वाचनमा प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई पनि समेटेर जाने प्रस्ताव गरेका थिए ।

मंगलबार र बुधबार विहान कांग्रेस र माओवादी केन्द्रका शीर्षको बैठकमा एमालेलाई पनि राष्ट्रिय सभामा निर्वाचनमा समेट्ने लैजानेबारे सकारात्मक छलफल भएको थियो । एमालेलाई समेट्नेबारे कांग्रेस र माओवादी केन्द्रबिच भएको छलफल एकीकृत समाजवादी र जसपाका नेताहरुलाई सुनाइएको थियो ।

त्यसपछि प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच छुट्टै छलफल भएको थियो । आगामी फागुन २० मा २० जना सांसदको पदावधि सकिँदै छ । जसमा कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुने छ ।

आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ ।

प्रतिक्रिया