पोस्टमार्टमपछि वीरेन्द्र र सुजनको शव स्काई ट्रकमार्फत सुर्खेत पठाइँदै


काठमाडौं- शुक्रबार ललितपुरको बालकुमारीमा मारिएका सुजन रावत र वीरेन्द्र शाहको शवको पोस्टमार्टम भइसकेको छ । हिजो दुवै जनाको पाटन अस्पतालमा पोस्टमार्टम गरिएको हो ।

आज दुवैको शव गृह जिल्लामा पठाउनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको छ । नेपाली सेनको स्काई ट्रक एन ए–०६४ मार्फत दुवै जनाको शव सुर्खेत लैजाने तयारी गरिएको छ ।

सुर्खेतबाट हेलिकप्टरमा सुजन रावतको शव दैलेख र वीरेन्द्रको शव अछाम लैजाने तयारी छ ।

शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन स्थलमा उनीहरु गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल पुर्याइएका उनीहरुको मृत्यु भएको थियो ।

सुजन रावतको छातीमा निलडाम भेटिएको छ भने सुरक्षाकर्मीले हानेको गोली अछामका वीरेन्द्र शाहको पेटमा लागेको छ ।

हिजो सरकार र बालकुमारी घटनाको मृतक परिवारबीच ४ बुँदे सहमति भएको थियो । दुई पक्षबीच भएको वार्तामा मृतकका परिवारका १ १ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र दिलाउन सरकार सहमत भएको हो । परिवारका सदस्यहरूसँगको सल्लाहमा यस्तो रोजगारी दिने सहमति पत्रमा उल्लेख छ ।

सरकारले उपलब्ध गराउने १० लाख रुपैयाँको राहतका अतिरिक्त थप राहत उपलब्ध गराउन यथाशीघ्र आवश्यक सहजीकरण गर्ने सहमति पनि भएको छ । मृतक वीरेन्द्र शाह र सुजन रावतलाई शहीद घोषणाका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने पनि सहमति पत्रमा उल्लेख छ ।

मृतकका परिवारले सोमबार नै शव बुझ्ने र शबलाई सम्बन्धित जिल्लामा पुर्‍याउने प्रबन्ध गृह मन्त्रालयले नै गर्ने सहमति भएको छ ।

प्रतिक्रिया