

सन्दीपको मुद्दामा आज पनि बहस, आजै फैसला हुने प्रबल सम्भावना

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज पनि बहस हुने भएको छ ।
बुधबार वादी पक्षको बहस सकिए पछि आज सन्दीपको पक्षका कानुनव्यवसायीको बहस हुने भएको छ । बुधबार हेर्दाहेर्दैमा गएकोले उक्ता मुद्दामा आज पनि न्यायाधीश शिशिर ढकालकै इजलासमा सुनुवाइ हुनेछ ।
बुधबारसम्म वादी नेपाल सरकार जाहेरवालीको तर्फबाट १० जनाले बहस गरेका थिए ।
आइतबारबाट सुरु भएको बहसमा उक्त दिन वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलहरू जिल्ला न्यायाधिवक्ता सीताराम अर्याल र सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गरेका थिए ।
त्यस्तै बुधवार अधिवक्ताहरू आस्मा आचार्य, नारायण चौलागाई, शशी अधिकारी, शान्ति काफ्ले, मोहना अन्सारी, अञ्जना अर्याल, प्रतिमा खरेल र ल्याक नेपालकी अध्यक्ष अनिता थपलिया गरी १० जनाले बहस गरेका थिए ।
बादी पक्षको बहस सकिएपछि बुधवार नै प्रतिवादीका तर्फबाट अधिवक्ता मुरारी सापकोटाले बहस सुरु गरेका थिए । सापकोटाले आज पनि बहसलाई निरन्तरता दिनेछन् ।
सापकोटापछि प्रतिवादीका तर्फबाट लिड लयर रहेका अधिवक्ता सरोजकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमणकुमार श्रेष्ठ, कृष्ण सापकोटा र सबिता भण्डारी तथा अधिवक्ता रोशनी पौडेलले बहस गर्ने तयारी रहेको छ ।
बिहीबार प्रतिवादीतर्फकाे बहस सकिएको खण्डमा वादीकातर्फबाट जवाफी बहसमा लामो समय नलागेमा आज नै फैसला हुने अपेक्षा गरिएको छ ।

