

सिन्धुलीमा पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट, श्रीमानसहित ७ जना पक्राउ

सिन्धुली- सिन्धुलीको कमलामाई नगरपालिका–४ मा एक महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट गरेको आरोपमा उनका श्रीमानसहित ७ जना पक्राउ परेका छन् ।
लेनदेनको विषयलाई लिएर शारदा थापालाई बिजुलीको पोलमा बाँधेर कुटपिट भइरहेको भन्ने जानकारी प्रहरीले आइतबार पाएको थियो । त्यसपछि प्रहरीको टोली पुगेर उनका श्रीमान सन्तोष थापासहित सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी सिलवालले बताए । आइतबार अपराह्न साढे ४ बजे घटनास्थलमा पुगेर प्रहरीले शारदाको पनि उद्धार गरेको हो ।
थापाले गाउँका केही व्यक्तिहरुसँग ऋण लिएका थिए । पहिले जग्गाको कारोबार गर्ने उनको पछिल्लो समय कारोबारमा समस्या आएको थियो । त्यहीबेला श्रीमती शारदाले पनि डिभोर्स गर्नलाई अदालतसम्म पुगेकी थिइन् ।
त्यसपछि श्रीमान् सन्तोष समेत भएर गाउँका अन्य व्यक्तिहरुले उनलाई बाँधेर कुटपिट गरेको पाइएको एसपी सिलवालले बताए । डिभोर्स गर्दा सन्तोषको सम्पत्ति लगेपछि आफूहरूले दिएको रकम फिर्ता नहुने भएपछि स्थानीले शारदालाई कुटपिट गरेको बयान प्रहरीसमक्ष दिएका छन् ।
जाहेरी आएपछि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

