विद्यालय नआएको भन्दै शिक्षकले घरमै गएर कुटे विद्यार्थी


पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको सरावलमा एक विद्यालयका शिक्षकले बालिकालाई निर्घात कुटपिट गरेका छन् । सरावल गाउँपालिका –७ मा रहेको बर्दघाट कालिका इंग्लिस स्कुलमा अध्ययनरत एक बालिकालाई शिक्षक निरञ्जन यादवले कुटपिट गरेका हुन् ।

कक्षा एकमा अध्ययनरत ९ वर्षीया कञ्चना राजभरलाई विद्यालय नआएको भन्दै घरमै गएर कुटपिट गरेको र विद्यालय गएपछि पनि निर्घात हुने गरी शिक्षकले पिटेको बालिकाकी आमा गन्जलाले बताइन् ।

यादवले लठ्ठीले पिट्दा बालिकाको शरीरभर निलडाम बसेको छ । घटनापछि आक्रोशित स्थानीयले विद्यालयमा तालाबन्दी गरेको वडा नम्बर ७ का वडा अध्यक्ष हायात खाँ धुनियाँले बताए । शिक्षक यादवले पटक–पटक विद्यालयमा बालबालिकालाई कुटपिट गर्दे आएको भन्दै विद्यालयबाट तुरुन्त बर्खास्त गर्नुपर्ने र कानुनी कारबाही गर्न स्थानीय अभिभावकले माग गरेका छन् ।

सोही विषयमा पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक काजिकुमार आचार्यले कुटपिट गर्नेविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने बताए । तर, कुटपिट गर्ने शिक्षक भने फरार छन् ।

प्रतिक्रिया