युद्धविराम सकिएपछि गाजामा इजरायलले फेरि गर्‍यो आक्रमण, ३२ जनाको मृत्यु


गाजा- गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तिमा ३२ जनाको मृत्यु हुनाको साथै थुप्रै घाइते भएको गाजा पट्टीका चिकित्सा स्रोतहरूले शुक्रबार सिन्ह्वालाई बताएका छन् ।

गाजा पट्टीका थुप्रै क्षेत्रहरूलाई लक्षित गर्दै इजरायलीहरूले गरेको हमलामा परी कम्तिमा ३२ जना प्यालेस्टाइनीहरू मारिएको र थुप्रै घाइते भएको स्रोतले जनाकरी दिएको छ ।

गाजाको सरकारी सञ्चार कार्यालयले विज्ञप्ति जारी गर्दै इजरायली विमानले गाजा पट्टीका विभिन्न शहरहरूका बसोबास रहेको र भीडभाड भएका क्षेत्रहरूमा बमबारी जारी राखेको जनाएको छ ।

विज्ञप्तिमा बालबालिका र महिलाहरू विरुद्ध जारू आक्रमणका लागि अन्तरराष्ट्रिय समुदायलाई जिम्मेवार ठहराइएको छ । इजरायली सञ्चार माध्यमका अनुसार नोभेम्बर २४ मा इजरायल र हमासले अल्पकालीन युद्धविराम गरेपछि पहिलो पटक शुक्रबार बिहान गाजासँगको सीमा नजिक इजरायली शहरहरूमा साइरन बजिरहेको आवाज सुनिन्थ्यो ।

इजरायली सेनाले गाजा पट्टीबाट इजरायलतर्फ प्रहार गरिएको क्षेप्यास्त्रलाई रोकेको पुष्टि गरेको छ। आक्रमणपछि, इजरायली होम फ्रन्ट कमाण्डले देशका केही क्षेत्रहरूमा नागरिकहरूका लागि दिशानिर्देशहरूलाई कडा पारेको छ। इजरायल र हमासबीच भएको अस्थायी मानवीय युद्धविराम स्थानीय समय अनुसार शुक्रबार बिहान ७ बजे समाप्त भएको थियो ।

प्रतिक्रिया