


ऋण र ब्याज तिर्न पर्दैन भन्ने अराजकतालाई सरकारले छुट दिँदैनः प्रचण्ड

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऋण र ब्याज तिर्न पर्दैन भनेर अराजकता फैलाउनेहरुलाई छुट नदिने बताएका छन् ।
प्रधानमन्त्री दाहालले अर्थतन्त्रको संकटबारे निजी क्षेत्रसँग मंगलबार भएको छलफलमा पछिल्लो समय ऋण र ब्याज तिर्न पर्दैन भनेर अराजकता फैलाउने काम बढी रहेकोले त्यस किसिमको अराजकतालाई सरकार छुट नदिने स्पष्ट पारे ।
प्रचण्डले सरकारले अर्थतन्त्र दबाबमा छ, सरकार, राजनीतिक दल र निजी क्षेत्र मिलेर सामना नगर्ने हो भने संकट गहिरिनसक्छ भन्ने सोचका साथ कदम चाल्दै आएको बताए ।
अहिले सहकारी, लघुवित्त र बैंकको ब्याजका साथै व्यवसायीले कर्जा नपाउने समस्या पनि रहेको उनले बताए ।
तर यसलाई देखाएर एकथरी मान्छेले राजनीतिक लाभ उठाउने कोसिस गरिरहेको उनले बताए । ‘अहिले समाजमा अराजकता फैलाउने कोशिस भइरहेको छ’, बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘आजको बैठकबाट बाहिरको भ्रम चिर्न र सरकार र दलहरु, जो संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छन्, उनीहरु समस्या समाधान गर्न एकठाउँमा छन् भन्ने सन्देश दिन सक्नुपर्छ ।’

