भुटानी शरणार्थी प्रकरणको निवेदन न्यायाधीशद्वय पाण्डे र खरेलको इजलासमा


काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणको निवेदनमाथि उच्च अदालत पाटनमा मंगलबारदेखि निरन्तर सुनुवाइ हुने भएको छ।

लामो समयदेखि जिल्लाले पुर्पक्षमा पठाउने निर्णय विरुद्ध दायर गरेको निवेदन विचाराधीन रहेकाले निरन्तर सुनुवाइ गरेर टुंग्याउन लागिएको हो। मंगलबार उक्त मुद्दाको पेसी न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा तोकिएको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगिएकाहरूको जाहेरीमा नेपाल सरकारले पूर्व विशिष्ट व्यक्तिहरूमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा चलाएको थियो ।

काठमाडौँ जिल्ला अदालतमा दायर उक्त मुद्दामा अदालतले अभियुक्तहरू तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्न नसकिने भन्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो ।

सोही आदेशविरुद्ध पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, निलम्वबत सचिव टेकनारायण पाण्डे लगायत प्रतिवादीले जिल्ला अदालत काठमाडौंको थुनामा पठाउने निर्णय त्रुटिपूर्ण भएको दाबीसहित उच्च अदालत, पाटनमा साउनमा निवेदन दिएका थिए।

उनीहरुलाई प्रारम्भिक प्रमाणका आधारमा धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेर थुनामा पठाएको थियो। उक्त मुद्दामा फरार रहेका प्रतिवादी रामबहादुर थापाका छोरा प्रतीक र इन्द्रजित राईका छोरा नीरज राई लगायत १५ जना हालसम्म फरार नै छन्।

प्रतिक्रिया