
प्रधानमन्त्रीले बोलाएको अर्थतन्त्र सुधारबारेको छलफल आज
काठमाडाैं – अर्थतन्त्र सुधारका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको बैठक आज बस्दैछ।
प्रधानमन्त्री दाहालले अर्थतन्त्रको अहिलेको अवस्था र चाल्नुपर्ने कदमका विषयमा छलफल गर्न सोमबार अन्तरनिकाय छलफल बोलाएका हुन्।
छलफलमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधिको सहभागिता रहने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जनाए ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसाे ४ बजे सुरू हुने छलफलमा विगतमा सरकारले गरेको प्रतिबद्धता, त्यसको कार्यान्वयन अवस्था र परिणाम, निजी क्षेत्रको माग, माग पूरा गर्ने सवालमा देखा पर्ने समस्या, अन्तर निकायमा देखिएको समन्वय अभाव लगायत विषयबारे छलफल गरिने बताइएको छ।
योसँगै निजी क्षेत्र, राजनीतिक दलहरू, विज्ञ र सरोकारवालाहरूसँग प्रधानमन्त्रीले छलफल गर्ने तयारी गरेका छन्।



कागजपत्र |
