
जाजरकोट भूकम्प अपडेट : मृत्यु हुनेकाे संख्या १३७ पुग्यो, १८५ घाइते
काठमाडौँ – भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १ सय ३७ पुगेको छ । दिउँसो १ बजेको अपडेट अनुसार जाजरकोटमा मात्र ६९ महिला र ३० पुरुष गरी ९९ जनाको मृत्यु भएको छ । त्यसैगरी रुकुम पश्चिममा १९ महिला र १९ पुरुष गरी ३८ जनाको मृत्यु भएको हो । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ८५ जना घाइते भएका छन् ।
सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज तथा अन्य ठाउँमा लैजाने क्रम जारी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहानै प्रभावित क्षेत्रमा पुगेर उद्धारको पहलमा जुटिरहेको छ। उनी चिकित्सक टोली र राहत सामग्रीसहित प्रभावित क्षेत्रमा पुगेका छन् नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यसैबीच भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँच वटा हेलिकप्टर तथा जहाजको प्रयोग गरेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार ३३ घाइतेको जिल्ला अस्पताल जाजरकोट र रुकुम पश्चिमबाट हेलिकप्टरमा उद्धार गरी उपचारका लागि नेपालगञ्ज लगिएको छ । राहत तथा उद्धारका लागि चिकित्सकसहितको टोली घटनास्थलमा पुर्याउने काम भइरहेको प्रवक्ता भण्डारीले जानकारी दिए। काठमाडौँ, सुर्खेत र नेपालगञ्जमा चिकित्सकसहितको टोली तयारी अवस्थामा राखिएको उनले बताए ।
गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।



कागजपत्र |
