सामान्य लक्ष्यमा नेपालको कमजोर सुरुवात, दुई ओभरमै गुमायो ३ विकेट


काठमाडौं — ७८ रनको विजयलक्ष्यसहित ब्याटिङ सुरु गरेको नेपालले लगातार विकेट गुमाएको छ ।

एसीसी यू–१९ प्रमियर कप क्रिकेटअन्तर्गत बहराइनले दिएको ७८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २.२ ओभरमा १० रन बनाउँदा ३ विकेट गुमाइसकेको छ ।

नेपालका लागि ओपनर दिपक बोहोरा, उत्तम थापा र दिपक डुम्रेलाई गुमाएको हो ।

अहिले नेपालका कप्तान देव खनाल र ओपनर अर्जुन कुमाल ब्याटिङमा रहेका छन ।

त्यसअघि नेपालका लागि दिपेश कँडेल र दुर्गेश गुप्ताले बहराइनको ब्याटिङ लाइन ध्वस्त बनाएका थिए ।  टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले ३७ दशमलव ५ ओभरमा अलआउट हुनु पूर्व ७७ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि दिपेश कँडेलले ६ र दुर्गेश गुप्ताले चार विकेट लिए । ९ दशमलव ५ ओभर बलिङ गरेका दिपेशले मात्र ४ रन खर्चिए । ८ ओभर बलिङ गरेका दुर्गेशले २२ रन दिए ।

बहराइनका मुहममद बसिल अब्दुल हक्कीमले ३४ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन । नेपालले १७ रन एक्स्ट्रा दिएको थियो ।

प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । शीर्ष ३ टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू १९ एसिया कप खेल्न पाउनेछन् ।

 

प्रतिक्रिया