

श्रीलङ्काद्वारा युएईसँग संयुक्त आर्थिक परिषद् स्थापनाको प्रस्ताव

काठमाडाैं – श्रीलङ्काले संयुक्त अरब इमिरेट्स (युएई) सँग दुई देशबीच व्यापार र लगानी सहयोग प्रवद्र्धन गर्न संयुक्त आर्थिक परिषद् स्थापना गर्ने प्रस्ताव गरेको छ ।
प्रधानमन्त्री कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवर्दनाले संयुक्त अरब इमिरेट्स (युएई) को विदेश मन्त्रालयका आर्थिक तथा व्यापार मामिला राज्यमन्त्री अहमद बिन अली अल सयेघसमक्ष बुधबार उक्त प्रस्ताव गरेका हुन् ।
श्रीलङ्कामा व्यापार, ऊर्जा, आतिथ्य र पर्यटनका साथै नवीकरणीय ऊर्जा परियोजनामा लगानी वृद्धिको प्रचुर सम्भावना रहेकाले आर्थिक सम्बन्ध विस्तारका लागि आर्थिक साझेदारी सम्झौताको सहयोगलाई अन्तिम रूप दिन छिट्टै वार्ता सुरु गर्नुपर्नेमा युएईका विदेशमन्त्री अल सयेघले सहमति जनाएका हुन् ।
गुणवर्दनाले भने, “युएईसँग अब कृषि जस्ता नयाँ क्षेत्रहरूमा लगानी गर्ने अवसर छ, किनकि निर्यातको लागि खाद्य बालीहरू उत्पादन गर्न नयाँ आर्थिक क्षेत्रहरू स्थापना गरिएको छ । उनले श्रीलङ्काको विकासका लागि युएईले गरेको सहयोग र करिब तीन लाख श्रीलङ्काली कामदारलाई रोजगारी दिएकोमा धन्यवाद दिए ।
युएई श्रीलङ्काको लागि आठौं निर्यात गन्तव्य हो । सन् २०२२ मा श्रीलङ्काबाट युएईसँग ३४५.८ मिलियन अमेरिकी डलर बराबरको कूल निर्यात मूल्य रहेको छ भने सोही अवधिमा युएईबाट श्रीलङ्कामा कूल आयात ९५ करोड डलरभन्दा बढी रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

