

सन्दीप लामिछानेविरुद्धको मुद्दा स्थगित सूचीमा

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको जबरजस्ती करणीको मुद्दा बिहीबार स्थगितको सूचीमा परेको छ । न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा स्थगितको सूचीमा परेको हो ।
काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार गोला प्रणालीबाट पेशी व्यवस्थापन हुने गरेको र फाँट नम्बर २८ को उक्त मुद्दाको गोला कुनै पनि न्यायाधीशले नतानेको कारण लामिछानेको मुद्दा स्थगितको सूचीमा परेको हो । फाँट नम्बर २८ मा रहेका अन्य सबै मुद्दा पनि स्थगितको सूचीमा परेको छ ।
हालसम्म ३० पटक साप्ताहिक तारेख र पूरक सहित २६ पटक पेशीमा चढेको उक्त मुद्दा वैशाख २४ गते नै अन्तिम सुनुवाइ हुने भनिए पनि विविध कारण अन्य आदेश हुँदै पर धकेलिएको छ । त्यतिबेला पनि कुनै पनि न्यायाधीशले सन्दीप प्रतिवादी रहेको मुद्दाको गोला नतानेपछि स्थगित भएको थियो ।
वैशाख २४ गते विविध कारणले सर्दै आएको उक्त मुद्दा भदौ १० गते नै अन्तिम सुनुवाइ गर्ने भनिए पनि त्यतिबेला हेर्न नभ्याउनेमा परेको थियो ।
सर्वोच्च अदालतको आदेशमा उक्त मुद्दालाई छिटो सुनुवाइ गर्नु भनी आदेश भए पनि विविध कारणले उक्त मुद्दाको सुनुवाइ सर्दै आएको छ । अन्तिम सुनुवाइपछि नै सन्दीपले अभियोग दाबीबाट सफाइ पाउने वा दोषी ठहर हुने भन्ने निर्क्योल हुनेछ । सन्दीप दोषी ठहर भएमा कम्तीमा १० वर्षको जेल सजाय भोग्नुपर्नेछ ।

