

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ

विराटनगर – सङ्खुवासभा सदरमुकाम खाँदबारीस्थित जिल्ला अस्पतालका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको छ ।
मादक पदार्थ सेवन गरेका युवकहरूले अस्पतालका स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । दुर्व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले खाँदवारी नगरपालिका–१ का २८ को विक्रम विश्वकर्मा, २८ वर्षीय आशीष विश्वकर्मा र खाँदबारी–९ का २२ वर्षीय अनिल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार मादक पदार्थ सेवन गरेर उनीहरूले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेका थिए । काममा खटिएका अस्पतालका स्वास्थ्यकर्मीलाई ती युवकले गालीगलौज गर्दै दुर्व्यवहार गरेको जनाइएको छ ।
पक्राउ परेकाहरूलाई अभद्र व्यवहारको कसूरसम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

