

चाडपर्वमा सुरक्षा अवस्थालाई मजबुद बनाउन बसमै प्रहरी

चितवन – चाडपर्वमा सुरक्षा अवस्थालाई मजबुद बनाउन जिल्ला प्रहरी कार्यालय चितवनले टोल विकास संस्थाहरुसँग पनि समन्वय गर्ने भएको छ।
चाडपर्वको मौका छोपेर अपराधिक गतिविधि हुनसक्ने खतरालाई मध्यनजर गर्दै प्रहरीले टोल विकास समितिसँग समन्वय गरेर नियमित गस्ती गर्न लागेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पंडितले जानकारी दिए।
चाडपर्व लक्षित विशेष सुरक्षा योजना सार्वजनिक गर्दै डिएसपी पंडितले आवश्यक पर्दा स्थानीय प्रतिनिधि पनि गस्तीमै हिँड्नेगरी टोल विकास संस्थासँग समन्वय गरिएको बताए। अहिलेसम्म जिल्लाका ११७ वटा टोल विकास संस्थाहरुसँग समन्वय भएको उनले बताए।
डिएसपी पंडितले भयरहित वातावरणमा चाडपर्व मनाउने वातावरण सिर्जना गर्न, चाडपर्वको अवसरमा हुनसक्ने ठगी, लुटपाट, चोरी, डकैती, गुण्डागर्दी, जुवातास नियन्त्रण गर्न, अत्यावश्यक वस्तुहरुको निर्वाध आपूर्ति गर्न, गुणस्तरहीन दैनिक उपभोग्य सामग्रीको बिक्री वितरण, कृत्रिम अभाव तथा कालोबाजारी नियन्त्रण गर्न विशेष सुरक्षा योजना आवश्यक परेको बताए।
साथै बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, बजार ईलाकामा अझ बढी सुरक्षाको प्रत्याभूति दिलाउनेगरी सुरक्षाकर्मी परिचालन गरिने उनले बताए।
विशेष सुरक्षा योजनाअन्तर्गत क्विक रेस्पोन्स टिम, अस्पताल रेस्क्यु टिम, सरप्राइज चेकिङ, गाडी, मोटरसाइकल, पैदल गस्ती, पिकेट डिउटी, राजमार्ग गस्ती, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षा तथा बैंक, सुनचाँदी पसल, आर्थिक कारोबार हुने स्थानको सुरक्षा टिम, बजार अनुगमन तथा सादा पोशाकको प्रहरी टिम परिचालन गरिने डिएसपी पंडितले जानकारी दिए।
राजमार्गमा चल्ने सवारी साधनमा यात्रुको सुरक्षाका लागि ‘राजमार्ग रात्रिकालीन वेस’ तयार पारेको उनले बताए। ‘राजमार्गमा चल्ने सार्वजनिक सवारी साधनमा प्रहरीकै उपस्थिती रहन्छ। पूर्व–पश्चिम राजमार्गको लोथरदेखि पुल्चोकसम्म चल्ने सवारी साधनमा यात्रुको सुरक्षालाई मध्यनजर गरेर युनिफर्म र हतियारसहितका प्रहरी रहनेछन्।
उनले अवैध मदिरा नियन्त्रण, झै–झगडा, जुवातास नियन्त्रण गर्न र विशिष्ट व्यक्तिको निवासको सुरक्षालाई पनि प्राथमिकतामा राखिएको बताए।
चाडपर्वलाई मध्यनजर गरी बढी भिडभाड हुने स्थान तथा बसपार्कहरुमा चौबिसै घण्टा प्रहरी रहनेगरी यात्रुहरुको गुनासो, पीरमर्का बुझ्न नागरिक सहायता कक्षको स्थापना गरिएको छ। भरतपुर–१ पुल्चोक र पोखरा बसपार्क, भरतपुर–९ केन्द्रीय बसपार्क र इच्छाकामना गाउँपालिका–५ मुग्लिन बजारमा सहायता कक्ष स्थापना गरिएको हो।

