
हमासले कयौँ इजरायली नागरिकलाई बन्धक बनाएको छ : सेना
तेल अभिभ – इजरायली सेनाले प्यालेस्टिनी चरमपन्थी समूह हमासले ‘उल्लेख्य सङ्ख्या’ मा इजरायली नागरिक र सैनिकलाई बन्धन बनाएको जनाएको छ । इजरायली सेनाका प्रवक्ता कर्नेल जोनाथन कोनरिकसका अनुसार हमासले बन्धक बनाएकाहरूमा महिला, बालबालिका, वृद्ध र अपाङ्गहरूसमेत सामेल छन् ।
यसमध्ये केही जीवितै रहे पनि केहीको भने मृत्यु भइरहेको सेनाले आशङ्का जनाएको छ । सामाजिक सञ्जालमा पनि यस्ता धेरै भिडियो साझा भइरहेका छन् जसमा हमास चरमपन्थी समूहले इजरायलीहरूलाई बन्धन बनाएको देख्न सकिन्छ ।
एउटा भिडियोमा गाजापट्टीमा भीडको बिचमा एउटा ट्रक गुडाइरहेको देखिएको छ । उक्त ट्रकमा इजरायली बन्धक रहेको बताइएको छ । उता, हमासको हमलापछि इजरायलले गाजापट्टीमा भीषण कारबाही जारी राखेको छ । इजरायलको यस कारबाहीमा गाजामा २ सय ३० जनाभन्दा बढीको मृत्यु भएको र १ हजार जनाभन्दा बढी घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।
त्यस्तै, इजरायलले गाजामा बिजुली, इन्धन र अन्य सामग्रीको आपूर्ति बन्द गर्ने बताएको छ । सन् २००७ देखि नै इजरायलले सुरक्षाको कारण देखाउँदै गाजापट्टीमा नाकाबन्दी गरिरहेको छ । गाजापट्टी र यसको किनारामाथिको हवाई क्षेत्रमा इजरायलको नियन्त्रण रहेको छ । उसले त्यहाँ हुने आपूर्तिलाई पनि नियन्त्रण गर्छ । -एजेन्सी



कागजपत्र |
