युक्रेनी रकेटले ओलेनिभ्का जेलमा हमला गरेको होइन- राष्ट्रसङ्घ


जेनेभा – गत वर्ष पूर्वी युक्रेनको एक जेलमा भएको घातक बम विष्फोट युक्रेनको एचआईएमएआरएस रकेटबाट नभएको संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताहरूले बताएका छन् । उक्त आक्रमणप्रति किएभ र मस्कोले एकअर्कालाई दोषारोपण गर्दै आएका थिए ।

सन् २०२२ जुलाई २९ मा मस्को नियन्त्रित उत्तरपूर्वी डोनेट्स्क क्षेत्रको ओलेनिभ्का जेलमा भएको बमबारीमा कम्तीमा ५१ युक्रेनी युद्धबन्दीको मृत्यु भएको थियो । बुधबार प्रकाशित प्रतिवेदनमा युक्रेनमा रहेको राष्ट्रसङ्घीय मानवअधिकार अनुगमन मिसनका अनुसन्धानकर्ताहरूले सटिक परिस्थितिहरू स्थापित गर्न र हमलामा को जिम्मेबार थियो भन्नेबारे सूचनाहरूको आवश्यकता थियो भनेर जोड दिँदै विष्फोटको अनुसन्धान जारी राखेको बताएका थिए ।

यद्यपि उनीहरूले युक्रेनी सशस्त्र फौजको एचआईएमएआरएस रकेटबाट उक्त विष्फोट नभएको स्पष्ट भएको बताएका छन् । “ब्यारेकका पर्खाल, सिलिङ, छत र झ्यालको क्षतिको अवस्था, भित्रका ओछ्यानहरूको अवस्था, बमले बनाएको खाडलको आकार हेर्दा यो आक्रमणमा एचआईएमएआरएस हतियारको विशेषता देखिँदैन”, उनीहरूले भनेका छन् ।

सन् २०१४ देखि युक्रेनमा रहँदै आएको राष्ट्रसङ्घीय उक्त मिसनलाई सो जेलसम्म पुग्ने अधिकार थिएन तर उसले ५० जनाभन्दा बढी प्रत्यक्षदर्शी र जीवितहरूसँगको अन्तरवार्ताका साथै भिडियो र फाटोग्राफिक फुटेजहरूको विश्लेषणका आधारमा उक्त निष्कर्ष निकालेको हो ।

“सम्भवतः एउटा एचआईएमएआरएस रकेट ब्यारेक र वरपरका क्षेत्रमा अत्यन्त ठूलो र गम्भीर स्तरको क्षति र विनाशको कारण बन्नसक्छ”, प्रत्यक्षदर्शीहरूको ‘धेरै विष्फोटको आवाज सुनेको’ भनाइ उद्धृत गर्दै प्रतिवेदनमा भनिएको छ । यसका साथै अनुसन्धानकर्ताहरूले क्षतिग्रस्त ब्यारेकका भिडियो र फोटोग्राफिक फुटेजले पश्चिमतिरको पर्खालको भित्री भागमा एउटा विन्दु र छतबाट प्रवेश गर्ने दुई सम्भावित विन्दुमा असर परेको देखाएको बताएका छन् ।

“हतियारको सटिक प्रकार र उसको उत्पत्तिस्थल निर्धारण हुन नसकेको समयमा संरचनात्मक क्षति हेर्दा पूर्व–पश्चिम दिशाबाट आक्रमण भएको देखिन्छ”, प्रतिवेदनमा भनिएको छ । अनुसन्धानकर्ताहरूले उक्त जेलमा स्वतन्त्र अनुगमनकर्ताहरूको पहुँच प्रदान गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया