

गैंडा मारेर खाग बेचेको अभियोगमा तीन जना पक्राउ

काठमाडौं – प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेर खाग बिक्री गरेको मुद्दामा अनुसन्धान गरी तीन जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
काठमाडैंको धापासीबाट सल्यान शारदा नगरपालिका–५ बस्ने ३१ वर्षीय पुरन रेउले र सीतापाईलाबाट काभ्रे मन्डन देउपुर नगरपालिका–१० ज्यामिरे बस्ने ४८ वर्षीय आइत तामाङ र रसुवा साविक सरमथली गाविस–६ हाल नौकुण्ड गाँउपालिका–३ वस्ने ३६ वर्षीय ज्ञानबहादुर रुम्वालाई पक्राउ गरी ब्युरोले उनीहरुले गैंडाको खाग ओसारपसार एवं खरिद बिक्री गर्न प्रयोग गरेको ना २ च १४५८ नम्बरको गाडी बरामद गरेको छ ।
पक्राउ परेका र उनीहरुबाट बरामद सामानलाई आवश्यक कानुनी कारबाहीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा, चितवनमा पठाइएको ब्युरोका प्रहरी उपरीक्षक तथा प्रवक्ता एवं सूचना अधिकारी गंगा पन्तले बताए ।
यही मुद्दामा संलग्न रहेका अन्य ४ जना अभियुक्तहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी कारबाहीको लागि पहिले नै चितवन पठाइएको ब्युरोले जनाएको छ ।

