

बजार अनुगमन : ठूलो मात्रामा गुणस्तरहीन सामग्री जफत

नुवाकोट – बजारमा गुणस्तरहीन वस्तुको बिक्री वितरण भइरहेको गुनासो आएपछि नुवाकोटमा अनुगमन गरिएको छ। अनुमगमनका क्रममा गुणस्तरहीन बस्तु जफत गरी नष्ट गरिएको छ।
संयुक्त बजार अनुगमन टोलीले नुवाकोटको पूर्वी भेगमा रहेको ककनी गाउंपालिका रानीपौवा तथा ओखरपौवामा रहेको विभिन्न किराना तथा मासु पसलको अनुगमन गरेको हो। एकैदिन ३० वटा खाद्यान्न, दुग्धजन्य तथा मासु र माछा पसल व्यवसायमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटले जनाएको छ।
नुवाकोटको जिल्ला बजार अनुगमन समितिद्वारा ककनी गाउँपालिका १, २ र ४ को बजार क्षेत्रमा किराना पसल, तरकारी पसल, होटल, दूध डेरी, मासु पसललगायतका ३० वटा पसलमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटले जनाएको छ। मापदण्ड विपरित गरिएको फेला परेपछि ३ वटा पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरी कुल २५ हजार रुपैयाँ राजश्व संकलन भएको कार्यालय प्रमुख किशोर सापकोटाले जानकारी दिए। उनका अनुसार ककनी १ को ओखरपौवा दुग्ध सप्लायर्स जलुकेनीलाई १० हजार, ककनी १ कै दर्ता नभएको किराना पसललाई नगद १० हजार र ककनी २ को काउले मासु तथा तरकारी पसललाई नगद पाँच हजार रुपैयाँ जरिवाना गराइएको हो।
कतिपय पसललाई समेत मापदण्ड अनुसार सन्चालन गर्न निर्देशन दिइएको छ। बजार अनुगमनको क्रममा जफत भएका म्याद नाघेका, लेबल नभएका तथा घरेलु मदिरालगायत २२ प्रकारकाकासमो्त गरी कूल ५९ हजार ३ सय ९० रुपैयाँ बराबरको अखाद्य वस्तु ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङ सज्जन तथा जिल्ला बजार अनुगमन समितिको रोहवरमा नष्ट गरिएको छ।
सरोकारवालासहितको संयुक्त बजार अनुगमन टोलीले दुग्ध पसल, मासु पसल, किराना पसल, तरकारी पसल, होटेलसमेत गरी ३० वटा पसलमा एकै दिन अनुगमन गरिएको घरेलु कार्यालयका प्रमुख किशोर सापकोटाले जानकारी दिए। उनका अनुसार अनुगमनका क्रममा सबै पसलमा मापदण्ड तथा गुणस्तरीयताका सम्बन्धमा बजार अनुगमन गरिएको छ।

