प्रचण्ड–सीबीचको भेटमा २० बुँदे सम्झौताका बारेमा छलफल हुने


चीन – एक साता लामो भ्रमणमा शनिबार बिहान  चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग साँझ चार बजे भेटवार्ता गर्दैछन् ।

दुई नेताबीचको भेटमा सीको नेपाल भ्रमणका समयमा भएको सम्झौताका बारेमा छलफल केन्द्रित हुने भएको छ।

२०७६ असोजमा चीनका राष्ट्रपति सीले नेपालको दुई दिने भ्रमण गर्दा नेपाल र चीनबीच २० बुँदे सम्झौता भएको थियो ।

राष्ट्रपति सीको नेपाल भ्रमणमा भएका सम्झौता पनि कार्यान्वयन तहसम्म नपुगेका हुनाले यस पटक प्रधानमन्त्री दाहालको भ्रमणमा चीनले नयाँ सम्झौता भन्दा पुराना सम्झौताका विषयमा बढी छलफल केन्द्रित गर्ने तयारी गरेको छ ।

राष्ट्रपति सीले नेपाल भ्रमणका क्रममा गरेका २० बुँदामध्ये अधिकांश सम्झौतामा काम भएको छैन ।

यी हुन् राष्ट्रपति सी नेपाल भ्रमणका भएका बेला भएका २० बुँदे सम्झौता :

१. नेपाल सरकार र चीनबीच सीमा व्यवस्थापन प्रणालीमा सम्झौता

२. नेपाल सरकार र चीनबीच सुशासन क्षमता विकासमा आदानप्रदान तथा सहयोगसम्बन्धी समझदारी

३. आपराधिक मामिलामा पारस्परिक कानुनी सहायतासम्बन्धी सन्धि

४. सगरमाथा संरक्षण सहकार्यसम्बन्धी समझदारी

५. नेपालको योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच उत्पादन क्षमतामा लगानी र सहकार्यमा मुख्य परियोजनाहरूको प्रवर्द्धनसम्बन्धी समझदारी

६. छेङ्दुमा नेपालको महावाणिज्य दूतावासको स्थापना गर्न नोट आदान प्रदान

७. नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच चीन–नेपाल सीमा पारी रेलवे परियोजनासम्बन्धी समझदारी

८. काठमाडौँ महानगरपालिका र चीनको नान्जिङ शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता

९. बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता

१०. नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र परम्परागत चिनियाँ औषधि प्रशासनबीच परम्परागत औषधिमा सहयोगसम्बन्धी समझदारी

११. नेपालको गृह मन्त्रालय र चीनको विपद् व्यवस्थापन मन्त्रालयबीच विपद् जोखिम न्यूनीकरण तथा आपत्कालीन सहयोगसम्बन्धी समझदारी

१२. नेपालको महान्यायाधिवक्ता कार्यालय र चीनको सुप्रिम पिपुल्स प्रोक्युरेटरबीच सहकार्यको समझदारी

१३. त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस इन्सिटच्युट मुख्यालयबीच त्रिविमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्ने सम्झौता

१४. नेपालको कृषि मन्त्रालय र चीनको भन्सार विभागबीच अमिलो फलफूलको गुणस्तर मापनसम्बन्धी फाइटोसेनेटरी प्रोटोकल

१५. नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच व्यापारसम्बन्धी संयुक्त कार्यदल गठनको समझदारी

१६. चीनको सहयोगमा नेपालमा भइरहेको भूकम्पपछिको पुनर्निर्माण परियोजनाको निरीक्षणको डेलिभरी एन्ड एक्सेप्टेन्स प्रमाणपत्र

१७. नेपालको अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी सहकार्य कार्यदल गठनको समझदारी

१८. नेपालको अर्थ मन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास सहकार्य निकायबीच सुरुङमार्ग निर्माण सहकार्यको समझदारी

१९. सीमा सुरक्षा उपकरण तथा कार्यालय उपकरणसम्बन्धी पत्र आदान प्रदान

२०. काठमाडौँ उपत्यकामा चीनको सहयोगमा महानगरीय खानेपानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययनको बैठकको टिपोट

प्रतिक्रिया