पारस–हिमानीबीच ४० कटेसी पलाएको पिरतीको अंकुर


काठमाडौं– पूर्वरानी कोमल शाहको ७१ औं जन्मोत्सवका अवसरमा झापाको मेची क्राउन होटलमा भएको कार्यक्रममा अनेक आयाम देखिए, निर्मलनिवास सदस्यका।

परिवारका प्रायः सबै सदस्य उपस्थित भएको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह र कोमलको नृत्यका भिडिओले व्यापकता पाए। दरबारभित्रको मनोरञ्जनको कौशलताले व्यापकता देखायो।

यहीबीचमा दरबारभित्रको एउटा टर्रो सम्बन्ध पनि मधुर लयतिर लम्किएको पाइयो। त्यो हो– पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहको सम्बन्ध।

एउटै स्थान देखिनु, सँगै तस्बिर खिच्नुले मात्र उनीहरूबीच दशक लामो भौतिक दूरी कम भएको त प्रमाणित गरेकै छ त्यसबाहेक भावनात्मक रुपमा पनि उनीहरू नजिक भएको संकेत मिलेका छन्।

एउटै तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन्। जसमा हिमानीले पारससँग सामिप्यमा रहेको तस्बिर राख्दै लेख्छिन्– जीवन प्रतिशोधका लागि होइन, प्रेमका लागि हो।

पारस–हिमानीको सम्बन्ध राजतन्त्रको अन्त्यसँगै विस्तारै विग्रँदो बन्यो। झन्डै डेढ दशकअघिको विग्रिएको सम्बन्ध भने ४० कटेसी नयाँ प्रेमका रुपमा अंकुराएको जन्मोत्सवमा अवसरमा देखिएको परिदृश्यले व्याख्या गरेको थियो। त्यसलाई जोडबल दियो– उनीहरूको भावनासहितको स्ट्याटसले।

हेमन्त रानाले एउटा गीत गाएका छन्– सुन साइँली ४० कटेसी रमाउँला। ठ्याक्कै पूर्वयुवराज दम्पत्तीको जीवन पनि यहि गतिमा अघि बढिरहेको लख काट्न सकिन्छ। निर्मलनिवासका एक जना सदस्य भन्छन्,‘अब सम्बन्धमा व्यापक सुधार देखिएको छ। जीवनमा अझ जिम्मेवार हुन थालेपछि यो जोडी नजिकिएको पाइन्छ।’

नजिकिनुपर्ने कारण र बाध्यता भने तीन सन्तान हुन्। परिवारका अन्य सदस्य हुन्। पारस–हिमानीका सन्तानहरू पूर्णिका, कृतिका र हृदयेन्द्र तरुणी–तरुण भइसकेका छन्। ‘हर घरमा सन्तानले बाबुआमालाई सँगै देख्न चहाने स्वभाविक र हाम्रो मौलिकता हो, त्यसैका लागि पनि उनीहरू नजिक भइरहेका छन्’, स्रोतले भन्यो।

योसँगै जीवनको उत्तरार्धतिरको यात्रा विस्तारै आउने भएकाले यो जोडीमा फेरि प्रेम अंकुराउन थालेको छ। ‘यो त निक्कै खुशीको विषय हो, जोडी राम्रो भएको, सम्बन्ध बलियो भएको नै राम्रो हो नि त’, राजपरिवारसँग सम्बन्ध रहेकाहरू भन्छन्।

पारस ०७१ मा नेपाल फर्किएपछि यतै छन्। यसबीचमा उनी निर्मलनिवास र हिमानी वरिपरि नभए पनि नेपालबाहिर गएका छैनन्। पारसले निर्मल निवासमा अझै औपचारिक प्रवेश पाएका छैनन् । यद्यपि, पछिल्ला दिनमा उनले पत्नी हिमानीसहित परिवारका सदस्यसँगको सम्बन्धमा भने सुधार थालेका थिए।

०७१ चैतमा बैंककबाट फर्केपछि पारस बहिनी शीताष्मा (काका धीरेन्द्रकी छोरी)को घरमा बस्दै आएका थिए। विस्तारै उनी काठमाडौं, ललितपुरका अपार्टमेन्टमा बसे। केही समय पोखरामा बसे।

मुटुको समस्याले नर्भिक अस्पतालमा भर्ना भएका ज्ञानेन्द्र डिस्चार्ज हुने वेला पनि पारस हिमानीसँगै अस्पताल पुगेका थिए । त्यो घटना पारसको पारिवारिक सम्बन्धमा सुधार हुँदै छ भन्ने आधार पनि थियो

पारसले हिमानीसँग सम्बन्ध सुधारको यात्रा थालेकोचाहिँ १५ असोज ०७५ देखि हो। त्यसबेला पारिवार र नजिकका आफन्तबीच मनाइएको उक्त कार्यक्रममा पारस र हिमानी केहीबेर सँगै नाचेका पनि थिए । उनीहरूलाई सँगै नाच्न नजिकका नातेदारहरूले माहोल मिलाइदिएको जानकार स्रोत बताउँछ।

मुटुको समस्याले नर्भिक अस्पतालमा भर्ना भएका ज्ञानेन्द्र डिस्चार्ज हुने वेला पनि पारस हिमानीसँगै अस्पताल पुगेका थिए । त्यो घटना पारसको पारिवारिक सम्बन्धमा सुधार हुँदै छ भन्ने आधार पनि थियो।

बैंककबाट फर्किएपछि सुरुका केही दिन पारस कुण्डलिनी निवासमा बसेका थिए। त्यसपछि बहिनी शीताष्माको घरमा बस्न थालेका थिए। देखिनेगरी निर्मलनिवासमा खासै आवतजावत हुँदैनथ्यो ।

०७२ वैशाख पहिलो साता गम्भीर बिरामी भएपछि उपचारका लागि  पारसलाई नर्भिक अस्पताल पु¥याइएको थियो। त्यसपछि उनी निरन्तर चेकअपमा छन् ।

१ जनवरी २०१७ मा पूर्वयुवराज पारस दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा नयाँ वर्षको रमझममा झुमेका थिए । वर्षको आरम्भ रमाइलो गरेर सुरु गरेका उनी सन् २०१७ को अन्त्यसम्म आइपुग्दा त्यति चर्चामा र विवादमा आएनन् । कुनै ठूला कार्यक्रममा पनि सहभागी भएनन् । केही सीमित साथीभाइसँग डिस्को जाने, होटेलका कार्यक्रममा सहभागी हुनेबाहेक पारस २०१६ को जति सक्रिय भएनन् ।

सन् २०१६ मा पारस निकै सक्रिय बनेका थिए । आध्यात्मिकदेखि सांगीतिक कार्यक्रमसम्ममा उनको सहभागिता बाक्लो थियो । सन् २०१७ मा भने बाहिरी घुमघाममा खासै रुचि देखाएनन् । यद्यपि, केही आध्यात्मिक भ्रमण भने गरे ।

पारस आध्यात्मिक बाटोमा क्रियाशील रहेको उनका साथी वेदनाथले बताए । उनले यहीबीचमा बहिनी शीताष्माका साथ ललितपुरको बंगलामुखी मन्दिर, रुद्रायणीदेवी, दक्षिणकाली र पशुपति दर्शन गरे । त्यसो त पारस गतवर्ष योगी व्यग्र वेदनाथसहितको टोलीसँग खप्तडबाबाको दर्शनका लागि खप्तड क्षेत्र पुगेका थिए ।

६ असार ०७४ मा पारस र हिमानी सँगै नर्भिक अस्पताल पुगेको सन्दर्भ हेर्दा अहिले पारस र हिमानीको सम्बन्धमा सुधार भएको मान्न सकिन्छ । पछिल्ला दिनमा उनीहरूको सम्बन्ध बिग्रिएको समाचार पनि बाहिर आएका छैनन्।

माता सविता सरुले ग्रहदशा बिग्रिएकाले पारस र हिमानीलाई सँगै नबस्न सुझाएकी छिन्। त्यही सुझाबअनुसार उनीहरू एकसाथ नबसेको दरबार निकट स्रोत बताउँछ। निर्मल निवासलाई थरिथरि मान्छेले दिने अनेकथरि सुझावका कारण पनि परिवारसँग पारसको औपचारिक मिलन नभएको जानकारहरू बताउँछन्।

तर पछिल्ला केही बर्षमा भने यस्ता हल्ला र सुझावलाई चिर्दै दुवै समझदारीमा आउने लक्षण देखिएको छ। हिमानी ट्रष्टले गोरखामा बनाएको विद्यालय उद्घाटनमा पनि पारस–हिमानीलाई पूर्वरानी कोमलले साथै राखेकी थिइन्, जसले उनीहरूको सम्बन्धमा अधिक सुधार भएको थियो। पूर्वरानीले झापामा मनाएको जन्मोत्सवले उनीहरूको प्रेम अझ गाढा बनाएको छ।

प्रतिक्रिया